Wednesday, May 17, 2023

जग्गाको कित्ता काट खुल्ने -नखुल्ने विषयमा मालपोत र नापी कार्यालय आफै अन्यौलमा


जग्गाको कित्ता काट खुल्ने -नखुल्ने विषयमा मालपोत र नापी कार्यालय आफै अन्यौलमा


मनोज यादव----

सर्लाही,जेष्ठ ३

      सधैंभरि भीडभाड रहने मालपोत र नापी कार्यालयमा सेवाग्राहीको  चहलपहल देखिन छाडेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालयले जारी गरेको भूउपयोग नियमावली २०७९ को प्रावधान अनुसार जग्गाको वर्गीकरणको आधारमा खण्डीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण  नापी कार्यालयबाट कित्ता काट हुन बन्द भएपछि मालपोत र नापी कार्यालयमा सेवाग्राहीको चहलपहलमा कमि आएको हो। 

   भुउपयोग सम्बन्धि ऐन २०७६ अनुसार जग्गालाई भूबनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकता समेतका आधारमा १० थरिका भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । जस अनुसार कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सीमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र भनि वर्गीकरण गरिएको छ ।मन्त्रालयले प्रत्येक स्थानीय तहको भूउपयोग क्षेत्र नक्सा तयार गर्नु, गराउनु पर्ने ऐनमा उल्लेख छ । ऐन प्रारम्भ भएको १ वर्षभित्रमा मन्त्रालयले स्थानीय तहका भूउपयोग नक्सा तयार गरी हस्तान्तरण गर्नु पर्ने प्रावधान रहे पनि हालसम्म स्थानीय तहले नक्सा नपाएको अवस्था छ । यसरी पाएका नक्साको आधारमा स्थानीय भूउपयोग परिषदले आवश्कताअनुसार अद्यावधिक गरी लागू गर्नु पर्ने उल्लेख छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जग्गालाई भूउपयोग नक्सा तथा स्थानीय आवश्यकता समेतलाई ध्यानमा राखी भूउपभोग क्षेत्रको वर्गीकरण गर्न सक्ने उल्लेख छ । तर, यही वीचमा संघ सरकारले भूउपयोग नियमावली ल्याएको हो ।

     भुमि सुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले नियमावलीमा जग्गाको खण्डीकरण र कित्ता काटको प्रावधान आएकाले सो बारेमा स्पष्टता नभएको हुँदा मन्त्रालय/विभागको आदेशको प्रतीक्षामा रहेको जानकारी दिए । जमीनको कित्ता काट सम्बन्धि सेवा रोकिए पनि  अन्य नियमित सेवाहरु भने दिइरहेका छौं यादवले बताए । कित्ता काट कहिले देखि सुरु हुन्छ ?भन्ने प्रश्नको उत्तर हामीहरु सँग पनि नरहेकोले यस विषयमा केही भन्न सकिन्न’, उनले भने।

  नापी कार्यालयले पनि  कित्ता काट गर्ने आदेश नआएको हुँदा कित्ता काटबाहेकका अन्य सेवाहरु सुचारु रहेको जानकारी दिएको छ ।

No comments:

Post a Comment