Thursday, May 4, 2023

लैंगिक तथा सामाजिक समावेशीको आधारमा बजेट तर्जुमा गर्ने पालिका प्रमुखहरु द्वारा प्रतिबद्धता


लैंगिक तथा सामाजिक समावेशीको आधारमा बजेट तर्जुमा गर्ने पालिका प्रमुखहरु द्वारा प्रतिबद्धता

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २१

     आर्थिक वर्ष २०८०/०८१ को लागि लैंगिक तथा सामाजिक समावेशीकरण नितिको आधारमा बजेट तर्जुमा गर्ने स्थानीय तहका प्रमुखहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीले बिहिवार सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना गरेको "स्थानीय तहमा लैंगिक उत्तरदायी बजेट निर्माण" सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी भएका कबिलासी,हरिवन,बागमती ,बरहथवा र हरिपुर्वा नगरपालिकाका प्रमुखहरुले यस्तो  प्रतिबद्धता ब्यक्त गरेका हुन्।कार्यक्रममा लैंगिक तथा सामाजिक समावेशीकरण निति बनाउने ,योजना तर्जुमा गर्दा देखि कार्यान्वयन र अनुगमन हुँदासम्म लैंगिक उत्तरदायी बजेटलाई ख्याल गरिएको छ या छैन भन्ने निगरानी गर्ने लगायतका विषयमा समेत पालिका प्रमुखहरुले आआफ्नो तर्फबाट प्रतिबद्धता ब्यक्त गरेका छन् । हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले  बजेट तर्जुमा गर्न दुई महिना अगावै सरोकारवालाहरु बिच अन्तरक्रिया  गराएर यस विषयमा ध्यानाकर्षण  गराएर माण्डवीले राम्रो काम गरेको बताउनुभयो ।साथै उहाँले यसअघिनै हरिवन नगरपालिकाले GESI को अडिट गराइ सकेको जानकारी गराउनुभयो।

   कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं  जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले उपयुक्त समयमा आएर अन्तरक्रिया कार्यक्रम मार्फत यस संस्थाले लैंगिक उत्तरदायी र समावेशीकरणको आधारमा योजना तर्जुमा गर्न  ध्यानाकर्षण गराएकोले यस विषयमा गम्भीर हुन पालिका प्रमुखहरुहरुलाई सचेत गराउनुभयो।

   मलंगवा-९ स्थित नवरंग होटलमा माण्डवीका कार्यक्रम संयोजक मुनीलाल बैठाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण बनिता कार्कीले गरेका थिए भने संचालन रमा पौडेलले गरेका थिए।

    कार्यक्रममा कबिलासी नगरपालिकाका मेयर ब्रह्मदेव राय,बरहथवा न.पा का उपमेयर रामबाबु साह,हरिवन न.पा का प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान ,बागमती  न.पा का मेयर प्रतिनिधि राजकुमार विश्वकर्मा ,पाँचवटै पालिकाका महिला तथा बालबालिका  शाखाका संयोजक, महिला संजालका संयोजक तथा सचिव,कार्यपालिका सदस्यहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले राखेका थिए।


No comments:

Post a Comment