Tuesday, May 9, 2023

सर्लाहीका ग्रामीण भेगका महिलाहरु व्यवसायीक बन्न थाले, कृषि तथा पशुपंक्षी पालन तर्फ आकर्षित

 


सर्लाहीका ग्रामीण भेगका महिलाहरु  व्यवसायीक बन्न थाले, कृषि तथा  पशुपंक्षी पालन तर्फ आकर्षित 


    "भेटेरिनरी अस्पताल द्वारा  किसानको फर्ममै पुगेर नि:शुल्क उपचार तथा औषधिको व्यवस्था "



मनोज यादव----

सर्लाही,बैशाख २६

   सधैंभरी  चुलो चौको र घरधन्दामा मात्र व्यस्त रहने सर्लाहीका ग्रामीण भेगका महिलाहरु व्यवसायीक कृषि तथा  पशुपंक्षी पालन तर्फ आकर्षण हुन थालेका छन् ।घरको काम सँगै विभिन्न पेशा ,व्यवसाय गर्न थालेपछि केही समय यता ग्रामीण भेगका महिलाहरु पनि पुरुष सरह आत्मनिर्भर बन्दै गएका छन् ।

     सर्लाहीको हरिवन नगरपालिका वडा न-२,लालभित्तीकी पद्म कुमारी ठोकरले ७ वर्ष अगाडी ३ वटा भैंसी राखेर अमृता भैसी फर्मको नामबाट फर्म संचालन गरे ।त्यो बेला उनले दैनिक ३० देखि ३२ लिटर दूध बिक्री गर्दै आएका थिए। तर कोरोना कालमा आएर उत्पादन भएको दूध बिक्री हुन छाडेपछि उनका श्रीमान साइकलमा राखेर नजिकैको हरिवन बजारमा लगेर बेच्न जाँदा उत्पादन भएजतिको दूध बिक्री नहुँदा त्यतिकै खेर जान थाले पछि ठूलो घाटा सहनु परेको र पछि कोरोनाको संकटबाट राहत पाएर जनजिवन पुनः सामान्य अवस्थामा फर्किएपछि फर्मलाई व्यवस्थित रुपमा संचालन गर्न केही अनुदान पाउने आसमा सदरमुकाम मलंगवा स्थित कृषि कार्यालयमा धाउँदा पनि केही नपाए पछि आफैले पैसाको जोरजाम गरेर ३ वटा भैसीबाट सुरु गरेको फर्मलाई अहिलेको अवस्था सम्म पुर्याएको अमृता भैंसी फर्मकी संचालिका ठोकरले बताइन।

   दैनिक ४० देखि ४५ लिटर दूध गाउँकै एक डेरीलाई बिक्री गर्दै आएकी ठोकरको फर्ममा अहिले ३ वटा भैँसी र ३ वटा गाईहरु रहेका छन् ।विगतमा राजनीतिमा लागेकी ठोकर महिलाहरु पनि आत्मनिर्भर बन्नु पर्छ भन्ने सोंचका साथ व्यवसायीक रुपमा यस क्षेत्रमा लागेको र यसबाट राम्रो आम्दानीको साथसाथै आत्मसंतुष्टी पनि मिलेको बताउँछिन्।

   उनी जस्तै हरिवन नगरपालिका लालभित्तिकी सन्चमाया दोंङ्ग पनि यसै क्षेत्रलाई आम्दानीको श्रोत बनाएकी छिन् ।उनको फर्ममा खसी,बाख्रा,गाई र भैंसीहरु गरि १७ वटा चौपायाहरु रहेका छन् ।उत्पादन भएको दूध गाउँकै डेरीलाई बिक्री गर्ने गरेको र खसी,बाख्रा  व्यापारीहरु फर्मै आएर किनेर लाने गरेको दोङ्गले बताइन् ।आफुले संचालन गरेको फर्मबाटै आएको आम्दानीले घर व्यवहार चलाउने देखि नाती नातिनालाई राम्रो स्कुलमा पढाउन मद्दत मिलेको उनले सुनाइन् ।

   भैँसी,खसी,बाख्रा ,बंगुर,हाँस तथा खुखुरा पालन हरिवन लगायतका क्षेत्रका गृहणी महिलाहरुका लागि आम्दानीको गतिलो माध्यम भएको छ।घरमा बसेर व्यावसायिकरुपमा पशुपालन गर्न थालेपछि यस क्षेत्रका महिलाहरुको आर्थिक स्थिति पनि सुध्रिएको छ। बजारमा दुधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी त होटल वालाहरुले दूध खरिद गर्ने गरेका कारण महिलाहरु यसतर्फ आकर्षित भएका हुन् । महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् ।

    तर व्यवसायीक पशुपंक्षी पालनबाट  आम्दानी राम्रो  भएपनि जोखिम पनि उत्तिकै छ। रोग लागेका चौपायाहरुले समयमा औषधि उपचार पाउन सकेका छैनन् ।जसको फलस्वरुप व्यावसायिक  किसानको लाखौं रुपैयाँको लगानी जोखिममा पर्दै आएको छ। सोही समस्यालाई मध्येनजर गर्दै भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र सर्लाहीले   विधिवत् रुपमा दर्ता भई  संचालनमा रहेका व्यवसायीक फर्मको लागि  नि:शुल्क उपचार सहित औषधि वितरण कार्यक्रम ल्याएको छ।उक्त कार्यक्रम अनुसार पशु चिकित्सक तथा प्राविधिकहरुको टोली  सम्बन्धित फर्ममै गएर पशुपंक्षीको जाँच गरेेर नि:शुल्क रुपमा औषधि वितरणको साथसाथै तालिम र परामर्श सेवा प्रदान गर्ने केन्द्रका प्रमुख शंकर साहले जानकारी गराएका छन् ।

    उक्त कार्यक्रमको सुरुवात विश्व भेटेरिनरी दिवसको अवसर पारेर  हरिवन र लालबन्दीमा रहेका केही कृषि तथा पशुपंक्षी फर्ममा औषधि वितरण गरेर गरिसकेको प्रमुख साहले बताए।

  पशु प्राविधिक तथा चिकित्सकहरुको टोलीबाट फर्ममै औषधि उपचार तथा परामर्श सेवा पाउन थालेपछि किसान महिलाहरु निकै खुसी भएका छन् ।

    

No comments:

Post a Comment