Thursday, April 23, 2020

फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने

काठमाडाैं, वैशाख ११
     गत फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने भएको छ।

निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। घिसिङले लकडाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने प्रष्ट पारे।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण अर्थतन्त्रमासमेत गम्भीर असर परेकाले मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बवापत लाग्ने जरिवाना र अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३० औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो।

मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनिकरणमा सहयोग गरिदिन आग्रह गरेका छन्। ‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौं, ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठ वटा अनलाइन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ। लकडाउन खुल्ला भएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नु भएको रकममा समायोजन गरिने छ,’ घिसिङले भने।

प्राधिकरणले चैत र वैशाखको महसुल आगामी ६ जेठभित्रमा भुक्तानी गरेमा दुई प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ। यसअघि यस्तो छुट सुविधा विलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो। मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले ग्राहस्थ (सामुदायिक समेत) वर्गका १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत र वैशाखको विलको इनर्जी शुल्क (न्यूनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ।

चैत महिनाको यस्तो छुट रकम विल नतिरेको ग्राहकको हकमा विलमा नै मिलाउने छ भने विल तिरिसकेका ग्राहकको हकमा वैशाखको विलमा मिलान गरिनेछ।

No comments:

Post a Comment