Wednesday, April 29, 2020

लकडाउनमा आपुर्ती सहज नहुँदा मलंगवामा औषधि अभाव/गम्भीर रोगबाट ग्रसित बिरामीहरु लाई समस्या

Video सहित .....
सर्लाही,वैशाख १७ ।

 लकडाउनका समयमा  आपूर्ति सहज नभएका कारण सर्लाहीको सदरमुकाम मलंगवामा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायीहरुले बताएका छन्  ।विशेष गरी दम, सुगर, प्रेसर, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधिहरुको बजारमा अभाव देखिन थालेको डाक्टर घनश्याम सिंहले बताए   ।


कोरोनाको संक्रमण फैलि नदिन  सिमानाकामा गरिएको सिलका कारण नेपाली बजारमा नपाएका औषधि भारतबाट  समेत ल्याउन  नपाएको  स्थानीयहरुले  गुनासो गरेका छन् ।स्थानीयहरु सरकारले  कोरोनाको संक्रमणलाई रोक्न लगाएको लकडाउन स्वागतयोग्य रहेको बताउँदै गम्भीर रोगबाट ग्रसित बिरामीहरुको औषधि आपुर्तीका लागि पनि सरकारले कुनै ठोस निर्णय लिनुपर्ने बताएका छन् ।


  नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला शहरमा मात्र बढी जोड दिएका कारण साना सहर बजारहरुमा औषधिको अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ ।औषधि व्यवसायी ले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागु र आवश्यक औषधि आफैं गएर ल्याउनुपर्ने जस्ता कारणले बजारमा औषधिको अभाव देखिन थालेको बताए ।‘‘बजारमा औषधि अभाव भइसकेको छ । आफैंँ गएर औषधि ल्याउन पनि कठिन छ’’, कृष्णा मेडिसिनका संचालक सौरभ अग्रालले भने, ‘‘यस्तो बेलामा सरकारले सहज आपूर्तिको व्यवस्था गरिदिनुपर्छ ।’’




No comments:

Post a Comment