Friday, April 17, 2020

सर्लाहीका ईटा उद्योगमा कामगर्ने २७ हजार भारतीय कामदारहरु लडाउनका कारण घर जान पाएनन्

मनोज यादव-----
सर्लाही ,बैशाख ५

      सर्लाहीका इँटा उद्योगमा काम गरिरहेका २७ हजार भारतीय  मजदुरहरु लकडाउनका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।

   जिल्ला समन्वय समितीका प्रमुख समेत रहनु भएका सर्लाही ईट्टा उद्योग व्यवसायी संघका जिल्ला अध्यक्ष मेथुर चौधरीका अनुसार जिल्लामा संचालित ९० वटा फिक्स ईट्टा उद्योगमा भारतको विहार र उत्तर प्रदेश राज्यका झण्डै २७ हजार कामदारहरु रहेका छन् ।काँचो ईट्टा पोल्ने इन्धनको अभावमा  ४० वटा उद्योगहरु चैतको पहिल र दोस्रो साता नै बन्द भएका छन् भने बाँकी रहेका ५० वटा पनि बैशाख १५ गते सम्ममा बन्द भइसक्ने संघका अध्यक्ष चौधरीले बताएको छ । उद्योगले खासगरी मंसिरदेखि जेठसम्म अर्थात् मनसुन शुरू हुनुभन्दा अघि मात्रै इँटा उत्पादन गर्छन् । यो वर्ष मनसुन शुरू नहुँदै  वर्षा भएकाले पनि ईट्टा उद्योगहरु धमाधम बन्द भइरहेको उहाँले बताउनुभयो ।

 काम बन्द भएका उद्योगमा काम गर्ने १० हजार भन्दा बढी स्थानीय कामदारहरु आआफ्नो घर फर्किसकेका छन् ,भने भारतीय कामदारहरु नाकाबन्दीले गर्दा घर जान पाएका छैनन् । घर जान नपाएका कामदारहरुलाई   उद्योगमै राखेर ईटा बनाउने काममा लगाएको चौधरीले बताउनुभयो ।उनीहरूलाई   उद्योगले नै सुरक्षित तवरले खानेबस्ने व्यवस्था मिलाइरहेको छ ।  ईटा उद्योगमा काम गर्ने  मजदुरहरु उद्योगले बनाइदिएको अस्थायी आवासमा  परिवार सहित बसेका  छन् । तिनका बालबच्चा समेत अविभावक सँगै  ईटा बनाउने काममा  छन् । “उनीहरुलाई घर पठाउने परिस्थिति नभएकाले हामीले नै खाने बस्ने सहज व्यवस्था मिलाएका छौँ”, संघका  अध्यक्ष चौधरीले भने, “उद्योग परिसरबाट उनीहरुलाई बाहिर जान दिएका छैनौँ र बाहिरका मान्छेलाई पनि भित्र पस्न रोक लगाएका छौँ ।”

उद्योग भित्र बसोबास गर्ने र  काम गर्ने कामदारको खानपान तथा   नियमित स्वास्थ्य परीक्षणको व्यवस्था उद्योगले नै गर्दै आएको अध्यक्ष चौधरीले  बताए ।
उद्योगमा काम नभए पनि मजदुरलाई बिचल्ली नपारिने उहाँको भनाइ छ । उनीहरुलाई नियमित हात धुने साबुनपानी, मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको बताउँदै उहाँले  इँटाभट्टामा काम गर्दा र बस्दा समेत सामाजिक दूरी कायम राख्न लगाइएको जानकारी दिए ।

कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण फैलिन नदिन आफुहरुले पनि सतर्कता अपनाइरहेका छौं तर खाने  र बस्ने व्यवस्था उद्योगले गरिदिएको भएपनि घरमा रहेका परिवारको चिन्ताले दिनरात  सताइरहेकोले आफुहरु घर फर्कन चाहेको मलंगवा नगरपालिका , गणेशिया स्थित रतन ईट्टा उद्योगमा कार्यरत भारतको उत्तर प्रदेश घर भएका कामदार गया प्रसाद गौतमले गुनासो गरे ।काम बन्द भएकोले अहिले उनीहरु उद्योग परिसरमै बनाइएका छाप्रोमा  दिनभर सुतेरै त कोही तास खेलेर समय कटाइरहेका छन् ।

No comments:

Post a Comment