Tuesday, April 21, 2020

लकडाउनका कारण नियमित खोप प्रभावित हुँदा नवजात शिशु तथा बालबालिकाको ज्यान जोखिममा ।


सर्लाही, बैशाख ९।
    विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड १९)बाट सर्लाही लगायत देशभरका नागरिक प्रभावित भएको अवस्थामा जन्मदेखि १५ महिनासम्मका बालबालिकामा नियमित रुपमा लगाइने विभिन्न प्रकारका खोपहरु प्रभावित भएको छ ।जसका कारण नवजात शिशु तथा बालबालिकामा  कोरोना भाइरस बाहेक  गम्भीर रोग सहितका जोखिम अवस्था श्रृजना भइ विभिन्न प्रकारको रोग फैलने सम्भावना बढेको छ ।

     कोरोना भाइरसका  कारण देशभरका अस्पतालहरु अहिले  कोरोनाको उपचारमा केन्द्रित भएका छन् । जन्मदेखि १५ महिनासम्मका बालबालिकामा नियमित रुपमा लगाइने विभिन्न प्रकारको खोपहरु समयमै नलगाउंदा लाखौं बालबालिकामा विभिन्न प्रकारको रोग सहित मृत्यु समेत हुन सक्ने सम्भावना बढेको छ ।देशमा कोरोनाको प्रभाव बढेपछि नेपाल सरकारद्वारा गरिएको लकडाउन कार्यान्वयन  गराउने उद्देश्यले नवजात शिशु तथा बालबालिकाका लागि संचालन हुँदै आएका  विभिन्न  खोपका कार्यक्रमहरु स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा  तत्कालका लागि बन्द गरेपछि यस्तो अवस्था श्रृजना भएको हो । तर लकडाउन सुरु भएको झण्डै एक महिना हुनै लाग्दा अहिले सम्म नवजात शिशु तथा बालबालिकाको खोप लगाउने व्यवस्थापन भएको छैन। कोरोनाका कारण स्वास्थ्य सम्बन्धि सम्पूर्ण कार्यक्रमहरु अहिले बन्द भएको छ ।

   सरकारको  पूरा ध्यान कोरोना भाइरसको संक्रमणलाई कसरी रोक्न सकिन्छ भन्ने तर्फ केन्द्रित रहेकोले पनि नियमित खोप सेवाहरु प्रभावित भएको मलंगवा नगरपालिकाका स्वास्थ्य संयोजक अभिराम झाले बताए ।
    जन्मदेखि १५ महिनासम्मका बालबालिकाहरुलाई  खासगरी क्षयरोग सहितका विभिन्न रोगबाट बचाउन जन्मना साथ ४५ दिनभित्र  लगाइने बीसीजी र ९ महिना तथा १५ महिने बालबालिकामा लगाइने दादुरा रुबेला विरुद्धको  खोप समेत बन्द गरिएकाले सर्लाहीका सयौं  नवजात शिशु तथा बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।

   विश्व भरि नै अहिले कोरोना भाइरस संक्रमणको खोपको रुपमा  बालबालिकामा लगाइने बीसिजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला सरकारले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने खोप बन्द गरेका  कारण सामान्य  व्यक्तिको भन्दा बालबालिकामा यसको  जोखिम बढेको  छ। कोभिड १९ मा देखिने  ज्वरो र श्वास प्रश्वास जस्ता लक्षणमा बीसीजी प्रभावकारी देखिए पनि बालबालिकामा लगाइने नियमित सबै प्रकारका  खोपहरु पनि उत्तिकै  जरुरी छ । तर त्यस मध्ये बीसीजी र दादुरा रुबेला खोप अविलम्ब लगाउनु पर्दछ । बीसीजी नलगाएर जन्मिने बच्चामा क्षयरोग लगायतक विभिन्न संक्रमणको सम्भावना हुन्छ भने दादुरा रुबेला खोप नलगाएमा  निमोनिया र डाइरिया लगायतका रोग लाग्ने सम्भावना बढी हुन्छ । यदि बालबालिका  निमोनिया, क्षयरोग लगायतका रोगहरुको शिकार भए रोग प्रतिरोधात्मक क्षमता कम हुने र तिनीहरुमा कोरोना भाइरसको संक्रमण फैलिन  सक्ने सम्भावना बढी हुने स्वास्थ्य संयोजक झा ले बताए।उनका अनुसार  बच्चालाई समयमा खोप नलगाए  कोरोनो भाइरससँगै अर्को महामारी उत्पन्न हुने खतरा बढी हुन्छ । नियमित रुपमा खोप नलगाएको अवस्थामा बालबालिकामा रोग सँग लड्ने क्षमता  घटेर  जाने र  विभिन्न रोगबाट ग्रसीत भइ मृत्यु समेत हुने झा ले बताउनुभयो ।


       

No comments:

Post a Comment