Thursday, August 12, 2021

प्रकृतिको शुन्दर उपहार सर्लाही तथा रौतहटको सिमा ‘नुनथर’ र शिवको प्रिय महिना साउन

 





क्षितिज बिश्वकर्मा

सर्लाही ,साउन २८

    प्रकृतिले शीतलता छर्ने महिना श्रावण । हुस्सुको पातलो आवरण हरिया जंगलहरुमा हावाको तालसँगै रंगमगाउँदा सुन्दर संगीत ध्वनित हुन्छ । यसै महिनामा सत्यम् शिवम् सुन्दरम्को भाव छचल्किन्छ नेपालका पहाडी पाखाहरुमा । अनि प्रकृतिको सौन्दर्यसँगै गुञ्जन्छ एक प्रकारको शालीन मौनता । अनि साउन रंगिन्छ मानवका सुकुमार भावहरुसँगै बतासिएर ।

    हो, प्रकृतिले नै सुन्दर अनि शीतल तुल्याएको साउन देवाधिदेव महादेव शिवको समेत प्रिय महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ ।

     श्रावण महिना धार्मिक सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । सूर्यको दक्षिणायन आरम्भ हुने, वर्षा ऋतु सुरु हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने यस महिनाका प्राकृतिक विशेषता हुन् । मानवजीवन र प्रकृतिबीच घनिष्ट सम्बन्ध भएकाले सबै मानवका लागि यस महिनाको महत्व छ । त्यसमा पनि कृषिनिर्भर जीवन भएका र सनातन धर्मावलम्बी हामी नेपालीलाई श्रावण महिनाको महत्व बढी नै रहेको छ ।

    यहि महिना हो देशका धेरै शिव मन्दिरहरु मध्ये रौतहटको पर्यटकिय क्षेत्र नुन्थरमा लाखौँ भक्तजन पुग्ने महिना । पूर्व–पश्चिम राजमार्गको बागमती खण्डबाट झण्डै २ किलोमिटर उत्तर थोरै पहाड चढेपछि नुनथर क्षेत्र पुगिन्छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका १ स्थित १६ हेक्टर क्षेत्रमा फैलिएको यो स्थानको दक्षिण खण्डको कुवाको पानी नुनिलो छ । चुरेफेदको पानीका मूलहरूमध्ये नुन मिसिएको मिठासयुक्त अन्यत्र पाइएको छैन । १ सय वर्षभन्दा बढी पुरानो शिव मन्दिर र त्यँहाको नुनिलो पानीका कारण यो क्षेत्र धार्मिक र पर्यटकीय महत्त्वले प्रख्यात छ । यही पानी नबिराई दुई वर्षसम्म खाएमा कुष्ठरोग चर्म रोग निको हुने जनविश्वास छ ।

    आफ्नै किसिमको मान्यता बोकेको विषयवस्तुले गर्दा निकै प्रसद्धि छ नुन्थर । छिमेकी जिल्लाहरु सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिसहरू यहाँ घुम्न आउछन । उनीहरू दिनभर घुमफिरमा व्यस्त हुन्छन । विवाह, ब्रतवन्ध, नयाँ वर्ष मनाउन, पिकनिक, तथा मनोरह दृश्यका लागि प्रख्यात रहेको छ नुनथर । पछिल्लो समय नुनथरमा पुगेर बर्थ डे मनाउनेहरु बाक्लै भेटिन्छन ।

    नुनथरमा झोलुंगे पुल निर्माण गरिएपछि यसको रौनक झनै बढेको छ । पुलले सर्लाहीलाई समेत जोडेको छ । तस्बिर खिच्न मात्र पनि पुलमा पुग्नेहरु धेरै छन । यहाँबाट बागमती नदीको रमाइलो दृश्य देख्न सकिन्छ । चुरेको काखमा रहेको नुनथर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बनिरहेको छ । यहाँ आउने जो कोही रमाउँछन् ।

     यो क्षेत्र साँच्चिकै पर्यटकीय गन्तव्य बन्न सक्ने भौगोलिक बनावटले पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । भगौलिक बनावटले पनि नुनथर पर्यटकका लागि चर्चित बनेकोले यहाँ आउने सबैलाई यस क्षेत्रले लोभ्याएको छ ।

     यो बर्ष कोभिड १९ संक्रमणका कारण नुनथरमा भक्तजनहरुको आगमन आँकलन गर्न नसकिने बताउँछन १२ बर्षदेखि नुनथरको मन्दिरमा पुजारि रहँदै आएका कृष्णनन्द गीरि । तथापी यस बर्षको साउनमा चारवटा सोमवार परेकाले पनी बढि भिड हुने अनुमान गरिएको छ ।

     साउन महिना लाग्नु अगावै रंग रोगन तथा टायल्स बिछ्याउने लगाएतका कामहरु सक्ने गरि निर्माणका कामहरु गरिएको थियो भने निर्माण र सौन्दर्यकरणका लागी प्रदेशबाट प्राप्त बजेटमा काम भईरहेको निर्माण समितीले बतायो ।



No comments:

Post a Comment