Friday, August 20, 2021

बलात्कार पछि हत्या गरेको आशंकामा पक्राउ दोषीहरुलाई कार्यवाही तथा पिडितलाई न्याय दिलाउन माग गर्दै पिडित पक्षद्वारा सर्लाहीको मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन



 ----प्रजिअलाई ज्ञापनपत्र पनि बुझाइयो----

मृतक किशोरी 



लोकतन्त्र समाचारदाता ----

सर्लाही ,भदौ ४ 

     सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१७  रानीगंज डाँडाटोल बस्ने  राजेश भुजलेकी १५ वर्षीया छोरी प्रियंका भुजेलको रहस्यमय ढङ्गले मृत्यु भएको विषयलाई लिएर आज दिउँसो (शुक्रवार )गाउँलेहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर  प्रदर्शन गरेका छन् ।उनीहरुले मृतक किशोरीको बलात्कारपछि हत्या भएको दावीसहित घटनामा संलग्नहरुलाई हदैसम्मको कानुनी कारवाही र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गर्दै सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

     प्रदर्शन गर्न आएका पिडित पक्षका गाउँलेहरु दोषीहरुलाई सार्वजनिक गरी कडा भन्दा कडा कारवाही हुनुपर्ने, शङ्कास्पद व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने, किशोरीको मोवाइल फोनको कल डिटेलका आधारमा पनि अनुसन्धान अघि बढाउनु पर्ने, भिसेरा र पोष्टमार्टम रिपोर्टमा कुनै चलखेल हुन नहुने माग राख्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

  गत साउन ३१ गते राती ११ बजेतिर घरबाटै बेपत्ता भएकी किशोरीको शव मंगलवार राती पूर्व–पश्चिम राजमार्गस्थित कालिन्जोर पुलबाट करिव २ सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा  फेला परेको थियो 

    सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरिसकेको छ । उनीहरुविरुद्ध बुधबार सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसंधान  अघि बढाइसकेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो महोत्तरीबाट पक्राउ परेका ति युवकहरुले नै कालिन्जोर खोलामा गाडिएको अवस्थामा युवतीको शव देखाएका थिए। 

      कालिन्जोर खोलामा हत्या पश्चात खाडलमा पुरिएको अवस्थामा फेला परेकी युवतीको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् । बलात्कार पछि हत्या भएको हुनसक्ने पिडितहरुले आशंका गरेका छन् । आफुहरु निर्मला पन्तको जस्तै घटनालाई ढाकछोप गर्न दिंदैनौ र जबसम्म दोषीलाई कार्यवाही र पिडितले न्याय पाउँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहने छ भन्दै मृतकका आफन्तहरुले आक्रोश ब्यक्त गरेका छन्  ।

     बुधबार राती जिल्ला अस्पताल मलंगवामा मृतक किशोरीको शवको पोष्टमार्टम भएपनि अहिलेसम्म परिवारले शव बुझ्न मानेका  छैनन् । पोष्टमार्टम भइसकेको शव जिल्ला अस्पतालमै छ । 

    किशोरीको मृत्यु नभई हत्या भएको भन्दै घटनाको  छानबिन र दोषीलाई कारवाहीको माग राख्दै स्थानीयवासीले बुधबार दिउँसो लालबन्दीमा २ घण्टा पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए ।


     


No comments:

Post a Comment