Saturday, August 14, 2021

निकास बिनाको विकासका कारण मलंगवा शहर करुप बन्दै




 ---नगरपालिका रमिता हेरेर बसेको स्थानीयहरुको आरोप---


मनोज यादव---

सर्लाही ,साउन ३०

      सर्लाहीको २० वटै पालिकाहरु मध्येको सबैभन्दा पुरानो तथा पहिलो नगरपालिकाको रुपमा रहेको मलंगवा नगरपालिका अहिले खुल्ला नाला, अव्यवस्थित बजार तथा हिलाम्मे सडकका कारण कुरुप बनेको छ । नगर भित्र बसोबास गर्ने स्थानीय बासिन्दाहरु नगरको अवस्थालाई देखेर आफुलाई मलंगवाकोबासी कहलाउन लाज मानिरहेका छन् ।

       विकासको मामिलामा जिल्लाका अन्य नयाँ पालिकाहरुको तुलनामा  मलंगवा सबैभन्दा पछाडि परेको छ।अहिले वर्षातको मौसम चलिरहेको अवस्थामा नगर भित्रका सबैजसो वडाका टोल तथा खाल्डाखुल्डी भएका सडकहरुमा  पानी जमेर पैदल समेत हिंड्न नसक्ने गरि हिलाम्मे बनेको छ ।

      मलंगवा नगर क्षेत्रका सबैजसो टोलको एउटै खाले समस्या रहेको छ ।वडा न-९ र १० को बिचमा पर्ने १० नम्बर वडाको वडा कार्यालयदेखि पुर्वतर्फ हनुमान मन्दिर सम्मको कच्ची बाटोको दुवैपट्टी बनाइएको नालामा सल्याप(ढक्कन) राखिएको छैन।झण्डै दुइवर्ष अगाडी कालोपत्रे गरेर सडक बनाउन योजनाका साथ सो सडकको दुबैतर्फ नाला बनाएपनि हालसम्म त्यसलाई छोप्ने काम भएको छैन ।दिनहुँजसो उक्त नालामा साना बालबालिका र पशु चौपाया लडेर घाइते हुने गरेको स्थानीय टोलबासी बिनोद ठाकुरले बताए ।बालबालिका र पशु चौपाया मात्र नभइ रातीराती बत्ती गएको बेला साइकल तथा मोटरसाइकल सवार मानिसहरु पनि  सवारी सहित उक्त खुल्ला नालामा लडेर गम्भीर घाइते भइसकेका छन् ,ठोकुरले बताए ।यतिमात्र नभइ  खुल्ला नालाका कारण टोलभरी दुर्गन्ध फैलिनुका साथै पैदालयात्रुलाई जोखिम निम्त्याएको सोही टोलका अर्का एक स्थानीय बासिन्दा अहमद मिकरानीले गुनासो गरे ।

      मलंगवाको मुख्य चौक नगरपालिका कार्यालयदेखि बालमन्दिर सम्म र बालमन्दिरदेखी पेट्रोल पम्प भएर गएको हुलाकी सडकका नालाहरु पनि लामो समयदेखि  सल्याप(ढक्कन) विहिन छन् ।सानो पानी पर्दा पनि नगरपालिका चौकदेखी बालमन्दिरसम्मको सडकमा खोलानै बग्ने गरेको स्थानीयहरुले बताएका छन् । 

     नाला पार गर्न वृद्ध, बालबालिक तथा अशक्तलाई समस्या हुने गरेको छ। नालालाई व्यवस्थित नगर्दा पसलमा आउने ग्राहक पनि फर्केर जाने गरेको पसलेहरुले गुनासो गरेका छन् ।‘यहाँका पसल अगाडि थुप्रै नालाहरु खुला छन् । रातसाँझ किनमेल गर्न र नालाको छेउ भएर हिँड्ने मान्छेलाई झन समस्या छ। बजारका धेरै जसो  नालाहरु साना छन् , वर्षातको मौसममा हलका पानी पर्ने वित्तिकै पनि नाला भरिएर पानी सडकमा आउने र पसल भित्र छिर्ने गरेको एकजना कपडा पसलेले बताए । 

      अव्यवस्थित तथा खुल्ला  नालाले बजारमा दुर्गन्ध फैलिँदै गएकाले यहाँ बसोबास गर्नेलाई दुर्गन्धले नराम्रो  असर गरेको मलंगवा -८ का राजु जयसवालको  भनाई छ। कतिपय स्थानमा नालाबाट दुर्गन्ध फैलिँदा  नाक थुन्नु पर्ने अवस्था छ। गर्मी र वर्षातको समयमा  नालाको दुर्गन्धले विभिन्न रोग फैलन सक्ने रुना धामी बताउँछिन् ।

     सम्बन्धित वडा कार्यालयले तत्कालै   नाला ढाक्नु पर्ने स्थानीयहरुको भनाइ छ। ‘नालामा चिप्लिएर कुनबेला लडिन्छ थाहा छैन, त्यसैले समयमै नाला व्यवस्थित गर्नु पर्ने आवश्यक छ। त्यस्ता नालाकै कारण मलंगवा दिनदिनै कुरुप बन्दै गएको स्थानीयको भनाइ छ। 

   



 


1 comment:

  1. निकास बिनाको विकासका कारण मलंगवा शहर करुप बन्दै

    https://rupantaranonline.com/social/9696/

    ReplyDelete