Sunday, August 1, 2021

मुसहर र डोम समुदायको पुरुषको आयु रक्सीले कम गर्यो



  ---औसत आयु ४० वर्ष मात्रै---

मनोज यादव-----

सर्लाही , साउन १७

     बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, तराईका मुसहर तथा डोम समुदायको बसोबास रहेका बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् ।

     यहाँका पुरुष एकाबिहानै रक्सी सेवन गरेर एक आपसमा गालीगलौज, झै–झगडा र कुटपिट नगरेको कुनै दिन नै हुँदैन भन्दा हुन्छ । काम गर्न नमान्नु, तास, जुवा, रक्सीमा मात्तिनु  र श्रीमतीलाई कुटपिट गर्नु पनि यहाँका पुरुषहरुको दिनचर्या नै भएको छ । शिक्षाको उज्यालो घामले नछोएको त्यस्ता समुदायका बस्तीका मानिसहरु छोराछोरीलाई पढाउने चाहना नै राख्दैनन् । आफ्ना छोराछोरीलाई विद्यालयमा पढाउनुको साटो उनीहरुलाई  गाई,भैंसी ,खसीबाख्रा, सुँगुर, बँगुर किनिदिने र त्यसको हेरचाहमा लगाएर २-४ पैसा आर्जन गर्न लगाउने कामलाई उनीहरु प्राथमिकता दिन्छन् ।

      मुसहर तथा डोम समुदायका  पुरुषहको औसत आयु ४० वर्ष मात्रै रहेको एउटा तथ्यांकले देखाएको  छ ।नेपाल सरकारले तोके अनुसार हरेक नेपालीको औसत आयु ६० वर्ष रहे पनि त्यस्ता  बस्तीका पुरुषहरुको औसत आयु ४० वर्ष मात्रै रहेको छ । पुरुषहरु अत्यधिक रक्सी खाने गरेका कारण ४० वर्षभन्दा बढी नबाँचेको तथ्यांकमा उल्लेख छ ।

तराईका मुसहर तथा डोमहरु बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाबाट रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु अल्पायुमै मर्ने गरेको थर्ड एलायन्स सर्लाहीका मानवअधिकार अधिकृत मुकेश मिश्रले बताउनुभयो ।

      २१ वर्षकै कलिलो उमेरमा विधवा भएकी एक मुसहर महिला रामपरी सदाले ३ वर्ष पहिले मात्रै पति विन्देश्वर सदालाई गुमाइन् । आफ्नो पतिको ३५  वर्षको उमेरमा अत्यधिक रक्सी सेवन गरेकै कारण मृत्यु भएको उनले बताइन । अल्पायुमै बुवाको मृत्यु देखेकी कन्चन देवी सदाले पनि रक्सी सेवनबाट शुरु हुने  पुरुषहरुको दैनिकीले नै उनीहरुको आयु कम गरिदिएको बताइन् ।यसैगरी

मलंगवा नगरपालिका वडा न-५ भाँडसर स्थित अोरलहिया टोलाकी स्थानीय  महिला मरनी देवी मल्लीका अनुसार आ–आफ्ना पुरुषका बारेमा कुनैपनि दिन अप्रिय समाचार सुन्नु पर्ने हो भन्ने भय पालेर यहाँका महिलाहरुले दिन गुजार्नु  परिहरेको छ । ओरलहिया टोलाको  गरीब बस्तीमा कुनै पनि डोमको घरमाथि टिनको छानो छैन । सबैको घर फुसको छानाले छाएर बनेका छन् र सबैको छानो चुहिने अवस्थाका छन् । ईंटा र सिमेन्टले बनेको पक्की घर सिमापारीको भारतीय बस्ती (कन्हौली)मा इन्द्रा आवास योजना अन्तर्गत बानाइएको मानिसहरुको मात्र छन् ।

    दैनिक रक्सी खाएका पतिबाट प्रताडित यस बस्तीका महिलाहरु खुलेआम बिक्री हुने घरेलु रक्सीका कारण आफ्ना पति माथि रक्सी खान रोक्न नसकेको  महिला अधिकारकर्मी मुक्ता यादव बताउँछन् ।आफू अनपढ भएकाले आफ्ना सन्तानलाई पनि सधैं अनपढ नै राख्ने सोच यहाँको अभिभावकले सोंच पालेको उनले भने ।

No comments:

Post a Comment