Thursday, August 12, 2021

मालपोत कार्यालय मलंगवामा बन्द गरिएका जग्गापास, अंशबन्डा लगायतका सबै काम जिल्ला प्रशासनको निर्देशनमा आइतवारदेखि सुचारु हुने

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,साउन २८

      मलंगवा स्थित मालपोत कार्यालयले कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरु अस्वस्थ भई जनशक्तिको अभाव भएको र अत्यधिक भीडभाडका कारण कोरोना संक्रमण फैलने खतरा रहेको भन्दै गत साउन २२ गते शुक्रवार  सूचना निकालेर साउन २४ गते आइतवारदेखि बन्द रहेका  जग्गापास, अंशबन्डा लगायतका सेवाहरुका समस्या परेको  सेवाग्राहीहरुले गुनासो गरेपछि  जिल्ला प्रशासन कार्यालय सर्लाहीले मालपोत कार्यालय मलंगवालाई सम्पूर्ण सेवा नियमित गर्न निर्देशन दिएको छ ।

      बिहिवार जिल्ला प्रशासन  कार्यालयबाट भएको  छड्के निरीक्षणमा  केही कर्मचारी पूर्व स्वीकृति नलिई अनुपस्थित रहेको र त्यसबाहेक अधिकांश कर्मचारी कार्यालयमा हाजिर रहेको पाइएको थियो । छड्के जाँच पश्चात् कर्मचारीहरु कार्यालयमा नियमित हाजिर भएर पनि सेवा प्रवाह नगर्दा  गम्भीर लापरवाही भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आलोपालो वा टोकन प्रणाली अपनाई  कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु तत्काल सूचारु गर्न मालपोत कार्यालयलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । आगामी दिनमा पूर्व स्वीकृति नलिई कर्मचारी अनुपस्थित हुने अवस्थाको पूर्णरुपमा अन्त्य गर्दै सेवाग्राहीमैत्री रुपमा जनगुनासो नहुने गरी सेवा प्रवाहको समुचित व्यवस्था गर्न अनुरोध गरिएको छ ।

 गएको शुक्रवार  कर्मचारीहरु बिरामी भएर  सेवा कटौति गरिएको भएपनि अहिले अधिकांश कर्मचारीहरु स्वस्थ्य  भइसकेकाले आइतवारदेखि सबै सेवा नियमित गरिने  कार्यालय प्रमुख पनिलाल यादवले बताए। 




No comments:

Post a Comment