Sunday, June 4, 2023

मिटर व्याजको नाममा ल्याएको जन विरोधी अध्यादेश खारिज गर्नुपर्ने माग गर्दै सर्लाहीका साहु महाजनहरु द्वारा सदरमुकाम मलंगवामा प्रदर्शन

 


मिटर व्याजको नाममा ल्याएको जन विरोधी अध्यादेश खारिज गर्नुपर्ने माग गर्दै सर्लाहीका साहु महाजनहरु द्वारा  सदरमुकाम मलंगवामा प्रदर्शन

मनोज यादव---

सर्लाही,जेष्ठ २१

    मिटर व्याजको नाममा ल्याएको जन विरोधी अध्यादेश खारिज गर्नुपर्ने माग गर्दै सर्लाहीका साहु महाजनहरुले  सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन् ।सरकारले  मिटरब्याजीको नाममा चरित्र हत्या गरेर निर्दोषलाई फसाउने काम भइरहेको भन्दै त्यसविरुद्ध गठन गरिएको संघर्ष समितिले आइतवार मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका हुन।

   विरोध प्रदर्शन गर्नु पुर्व जिल्लाको विभिन्न ठाउँबाट सयौंको संख्यामा आएका महिला तथा पुरुष साहुहरु जनविरोधी अध्यादेश २०८० खारेज गर,एक पक्षिय कार्यवाही बन्द गर,वित्तीय कारोबार सहज गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गर्दै नगरको परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयको मुख्य गेट अगाडी आएर नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

   सरकारले मिटरब्याजी पीडितको समस्या समाधानको नाममा र दबाबमा अध्यादेशमार्फत कानुन ल्याएर निर्दोष साहु महाजनलाई समेत उठिबास र बदनाम गराउन खोजेको उनीहरूले आरोप लगाएका छन् । ‘समस्यामा परेको बेला सहयोग लिने तर तिर्नेबेला मिटरब्याजी भनेर प्रहरीमा निवेदन दिने त्यस्ता अवसरवादीविरुद्ध संगठित रूपमा आवाज उठाउन संघर्ष समिति गठन गरेर आन्दोनमा उत्रिएको समितिका सदस्य मलंगवा निवासी  पप्पु कर्णले बताए।

   उनीहरूले अपरिपक्व अध्यादेश कानुनको मान्य सिद्धान्त विपरीत जारी हुनुभन्दा पहिल्यै भएका कार्य व्यवहारलाई समेत असर पर्ने गरि एक पक्षीय रुपमा पछिबाट जारी भएको अध्यादेशमा राखिएको कानुनी व्यवस्थाहरु तत्काल खारेज गरि सामाजिक जनजिवन सहज रुपले चल्न सक्ने गरि उपयुक्त कानुनी व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

    सरकारले मिटर ब्याजबाट पीडित भएकाहरूलाई जिल्ला प्रशासन कार्यालयको उजुरी शाखामा आवेदन दिन आह्वान गरेपछि सर्लाहीको जिल्ला प्रशासन कार्यालयमा हालसम्म १ हजार ९ सयभन्दा बढी उजुरी परिसकेको बताइएको छ ।

No comments:

Post a Comment