Tuesday, June 13, 2023

महिलाको शव सडकमा राखेर सलेमपुरबासी द्वारा चक्काजाम,५ घण्टा पछि राति ९ बजे जाम खोलियो

  महिलाको शव सडकमा राखेर सलेमपुरबासी द्वारा चक्काजाम,५ घण्टा पछि राति ९ बजे जाम खोलियो 

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,जेष्ठ ३०

     सर्लाहीको  नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत  कविलासी नगरपालिका वडा न-१० स्थित सलेमपुर चौकमा  स्थानीयहरुले गरेको चक्का जाम हिजो(सोमबार) राति ९ बजेबाट खोलिएको छ। स्थानीयहरुले आइतवार साँझ अज्ञात चारचक्के गाडीको ठक्करबाट मृत्यु भएकी महिलाको शव सोमबार  साँझ ४ बजेदेखि सडकमा राखेर दुवैतर्फको आवागमन बन्द गरेर चक्का जाम गरेका थिए। 

   आइतबार साँझ बजारबाट तरकारी किनेर घर फर्कदै गरेका चन्द्रनगर गाउँपालिका वडा न-५  मोहनपुर घरभई हाल सलेमपुरस्थित माइतीमा बस्दै आएकी २२ वर्षीया सबनम खातुन र उनकी आमा ७० वर्षीया अबेदा खातुनलाई चारचक्के अज्ञात गाडीले ठक्कर दिएका थिए। दुर्घटना भए लगत्तै स्थानीय प्रत्यक्षदर्शीहरुले दुवैजनालाई उपचारको लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा लगेको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिरगंज स्थित नेशनल मेडिकल कलेज लगिएको थियो।छोरी सबनमको  उपचारको क्रममा  आइतवार राति नै मृत्यु भएको थियो भने आमा अबेदाको अहिले पनि सोही अस्पतालमा उपचार चलिरहेको जनाइएको छ।

   प्रहरीले दुर्घटनामा संलग्न गाडीको पहिचान गर्न नसकेकोले गाडी र चालकको पहिचान गरि नियन्त्रणमा लिनुपर्ने माग राखेर स्थानीयबासीहरुले सोमबार साँझ ४ बजेदेखि चक्का जाम गरेर प्रदर्शन गरेका थिए। 

   प्रदर्शनकारीहरुलाई  सम्झाई बुझाई गरि गएराति ९ बजेबाट  सडक खुलाइएको प्रहरीले जनाएको छ।

   मृतक सबनमका श्रीमान रोजगारीको सिलसिलामा सउदीमा रहेका छन् भने आफ्नो डेढ वर्षको छोरालाई लिएर उनी माइती सलेमपुरमा बस्दै आएकी थिइन। 

   आमा छोरीलाई ठक्कर दिने गाडीको रंग नेवीब्लु रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

No comments:

Post a Comment