Tuesday, December 27, 2022

श्रीमती लक्ष्मी देवी मावि गम्हरियामा झण्डै डेढ करोडको लागतमा ८ कोठे भवन बन्ने


श्रीमती लक्ष्मी देवी मावि गम्हरियामा झण्डै डेढ करोडको लागतमा ८ कोठे भवन बन्ने

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १२

   सर्लाहीको मलंगवा नगरपालिका वडा न-११ गम्हरिया स्थित रहेको श्रीमती लक्ष्मी देवी जनता माध्यमिक विद्यालयमा ८ कोठे भवन बन्ने भएको छ ।

   विद्यालयको प्रांगणमा बन्न लागेको उक्त भवनको सर्लाही क्षेत्र न-२ का प्रतिनिधि सभा सांसद महेन्द्र राय यादव र क्षेत्र न-२(ख)का प्रदेश सभा सांसद कौशल किशोर रायले संयुक्तरूपमा मंगलबार एक कार्यक्रमका बीच  शिलान्यास गरेका हुन् । राष्ट्रीय योजना आयोगबाट प्राप्त एक करोड पैंतालीस लाख रुपैयाको लागतमा उक्त भवनको निर्माण हुन लागेको विद्यालयका प्राधानाध्यापक युगेश्वर राउतले बताए । कक्षा कोठा अभावका कारण पठन पाठनमा समस्या हुने गरेकोले नयाँ भवन निर्माण भइसकेपछि पठनपाठनमा धेरै हदसम्म सहज हुने प्रधानाध्यापक राउतले बताएका छन् ।

   सोही अवसरमा विद्यालय परिवारले सांसदद्वय यादव र रायलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।सम्मान कार्यक्रम मार्फत प्रअ राउतले वि.स २०१८ सालमा स्थापना भएको यस विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको साथै पुस्तकालय समेत नरहेको जानकारी गराउँदै सो को व्यवस्था गरिदिन सांसदद्वय यादव र र रायसँग आग्रह गरेका थिए।

  सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रदेश सांसद राय यसै विद्यालयमा कक्षा १ देखि ७ सम्म पढ्ने बेलाको आफ्नो पुरानो दिनहरुलाई सम्झिंदै त्यो बेलाको अनुभवहरु सबैसँग साझा गरेका थिए।उनले यसअघि लगातार तीन कार्यकाल नेपाल शिक्षक संघ सर्लाहीको जिल्ला अध्यक्ष रहेको बेला समयसमयमा यस विद्यालयको लागि भौतिक लगायत विभिन्न सेवा सुविधाहरु उपलब्ध गराएको र अहिले  आफु प्रदेशको सांसद समेत भइसकेकोले यस विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि संघ र प्रदेश दुवै तहको सरकारबाट सक्दो सहयोगहरु उपलब्ध गराउने प्रतिबद्धता जनाए । अबको केही दिनमै यसै विद्यालयमा ४५ लाखको लागतमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवनको समेत शिलान्यास गरिने प्रदेश सांसद रायले जानकारी गराएका थिए।

   शिलान्यास तथा सम्मान  कार्यक्रममा पूर्व नेपाली काँग्रेस जिल्ला सभापति लक्ष्मण राय, पूर्व गाविस अध्यक्ष काशी राय, मलंगवा नगरपालिका वडा न-११ र १२ का वडाअध्यक्षहरु शम्भु राय र रामदरेश राय,नेता कृष्ण कुमार यादव तथा विधालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थित रहेको थियो।


  

No comments:

Post a Comment