Wednesday, December 21, 2022

डिसहोममा भारतीय टेलिभिजन ‘स्टार´को ३२ वटा च्यानल बन्द,बक्यौता तिर्न बाँकी

 डिसहोममा भारतीय टेलिभिजन  ‘स्टार´को ३२ वटा च्यानल बन्द,बक्यौता तिर्न बाँकी



लोकतन्त्र समाचारदाता---

काठमाडौ,पुस ६

 लामो समयसम्म बक्यौता नतिरेपछि भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा आफ्ना ३२ वटा च्यानलहरुको सेवा बन्द गरेको छ । 

  लामो समयदेखि बक्यौता नतिरेको र पटक-पटक ताकेता गर्दा समेत  महिनौंदेखिको रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै स्टार टेलिभिजनले पुस ३ गते रातीदेखि डिसहोम बाट स्टार प्याकेजका सबै च्यानलको सेवा बन्द गरिदिएको हो ।

   नेपालमा स्टार प्याकेज अन्तर्गत ३२ वटा च्यानलहरु प्रसारण हुँदै आएका छन् । जसमध्ये स्टार, स्टार स्पोर्टस, स्टार गोल्ड लगायतका च्यानलहरु नेपाली दर्शकमाझ सबैभन्दा लोकप्रिय रहेका छन् ।

   सिग्नल काटिएपछि डिस मिडियाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको छ, जसमा आफूले ३ करोड ६ लाख भारतीय रुपैयां स्टार इण्डिया प्रा.लिलाई भुक्तानी गर्न बांकी रहेको स्वीकार गरेको छ । पुस १५ गते भित्र रकम भुक्तानीको समय मागेको भए पनि विना सूचना सिग्नल काटेर भारतीय टीभी कम्पनीले दादागिरी देखाएको भन्दै विदेशी च्यानललाई गरिने भुक्तानीसम्बन्धी नीति परिवर्तन गर्न  डिसहोमले माग गरेको छ ।

  स्टार र डिस मिडिया नेटवर्कवीच भुक्तानीमात्र नभएर अन्य विषयमा पनि केही समयदेखि विवाद चल्दै आएको बताइन्छ । जसका कारण स्टार लाइन काट्नेसम्मको अवस्थामा पुगेको हो ।नेपालमा स्टारसहित सोनी, कलर्स लगायतका च्यानलहरुको प्याकेज बिक्री हुँदै आएको छ, जसबापत भारतीय च्यानलहरुले वर्षमा अर्बौं रुपैयाँ नेपालबाट लगिरहेका छन् ।

  डिस मिडिया नेटवर्कले यसैवर्षको अन्त्यसम्ममा सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने तयारी गरिरहेको छ । तर, पछिल्ला केही महिनायता बिभिन्न बिदेशी कन्टेन्ट निर्मातासँग उसको भुक्तानीसम्बन्धी बिबाद चर्किरहेको छ ।


No comments:

Post a Comment