Thursday, March 30, 2023

सर्लाहीका एक डाक्टर बने बेसहाराको सहारा/दुई अनाथको पालपोषण तथा पढाइ लेखाईको सम्पूर्ण जिम्मेवारी

 

सर्लाहीका एक डाक्टर बने बेसहाराको सहारा/दुई अनाथको पालपोषण तथा पढाइ लेखाईको सम्पूर्ण जिम्मेवारी 


मनोज यादव---

सर्लाही,चैत्र १६

    मानिसहरु आफ्नो स्वार्थका लागि एकअर्काको ज्यान समेत लिन पछाडि नपर्ने यस्तो युगमा सर्लाहीका एक समाजसेवी बाबु गुमाएर अनाथ बनेका दुई बालबालिकाको सहारा बनेका छन्। समृद्ध सर्लाही निर्माण संस्थाका संयोजक एवं स्तुति सौम्या हेल्थ केयर हस्पिटल मलंगवाका संचालक समाजसेवी डा.गुणेश्वर झा ले भर्खरै २ महिना अगाडि मस्तिष्क घातबाट ज्यान गुमाएका मलंगवा नगरपालिका वडा न-७,गणेशियाका २८ वर्षीय राम दरेश यादवको दुई  नाबालक छोराछोरीको पालपोषण तथा पढाइ लेखाईको सम्पूर्ण जिम्मेवारी लिएका हुन्।

    यादव मलंगवा न.पा वडा न-४ स्थित शिवसागर चौकमा सानो होटल संचालन गर्दै आइरहेका थिए।उनी सोही होटलबाट आएको आम्दानीबाट आफ्नी २४ वर्षीया श्रीमती पुनिता देवीसहित ४ र  ६ वर्षका दुई छोराछोरीको पालनपोषण गर्दै आएका थिए।लामो समयदेखि मस्तिष्क घात नामक जटिल रोगबाट पिडित रहेको तर उपचारको लागि सम्पत्तिको नाममा एकधुर जग्गा समेत नरहेकोले पैसा अभावका कारण  भर्खरै दुई महिना अगाडी उनको मृत्यु भएको थियो।

   कमै उमेरमा श्रीमानको मृत्यु पछि घरबार विहिन बनेका  पुनिता आफ्ना दुई नाबालक छोराछोरीलाई लिएर  सडकमा दिनरात बिताउन थालेको देखेर गणेशियाकै एक ब्यक्तिले दिएको एकटुक्रा जग्गामा गाउँलेहरु मिलेर बाँसको भित्ता र जस्ताको छाना भएको एउटा सानो घर बनाएर उनीहरुलाई बस्ने ब्यवस्था गरिदिए,तर बस्ने व्यवस्था भएपनि साना बालबालिकाको पालनपोषणको  समस्या भने यथावत् नै रहेकोले सोको सम्पूर्ण  जिम्मेवारी आफुले लिएको समाजसेवी डा.झा ले बताउनुभयो । उनीहरुको पालनपोषण र शिक्षादिक्षाका लागि स्तुति सौम्या हेल्थ केयर हस्पिटलबाट आएको आम्दानीको केही प्रतिशत रकम समेत उपलब्ध गराउँदै जाने उहाँले भन्नुभयो।

   समाजमा राम दरेशको जस्ता असंख्य बेसहारा परिवारहरु रहेकाले त्यस्ता परिवारको खोजी गरि उनीहरुको सहारा बन्न समाजसेवी डा.झाले आग्रह गरेका छन् ।

   

No comments:

Post a Comment