Thursday, March 9, 2023

तराई मधेसमा होली बुधबार मनाइयो,पानी परेका कारण होलीको रौनक देखिएन


तराई मधेसमा होली बुधबार मनाइयो,पानी परेका कारण होलीको रौनक देखिएन


मनोज यादव---

सर्लाही,फाल्गुन २५

    तराई–मधेशको मिथिला क्षेत्रमा हिजो बुधबार होली मनाइएको छ।तराई मधेशमा होली पर्व पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट  मनाउने चलन रहिआएको  छ।

   पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ।  तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ।सर्लाहीसहित सम्पूर्ण मिथिला क्षेत्रमा  भने  यसपालि बुधबार होली मनाइएको छ।  नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा का अनुसार तराईको मिथिला क्षेत्रमा १५ दिने परिक्रमा सम्पन्न भएको भोलिपल्ट  होली मनाउने चलन रहिआएको छ। हिन्दु धर्ममा मंगलबार काटमार गर्ने र माछ मासु खान नहुने मान्यताका कारण पनि यस क्षेत्रका मानिसहरु मंगलबारको साटो बुधबार होली मनाएका हुन।

    मानिसहरु विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर,  शुभकामना साटासाट गरी होली पर्व मनाएका छन् । पछिल्लो समय गाउँघरमा  होलीका वेला गाइने जोगिरा गीतको चलन हराएकोले युवा युवतीहरु डिजेमा विभिन्न फिल्मी होली गीतहरु बजाएर नाचमार्फत  मनोरञ्जन गरेका छन् । 

   पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ।​यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ। 

       खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ। ​ 

  बिहानैदेखि पानी परेका कारण होलीको रौनक केही कम देखिएको थियो।


No comments:

Post a Comment