Friday, March 3, 2023

कबिलासी महिला जनप्रतिनिधि संजाल निर्माण गर्दै चौथो मोड्युलको प्रारम्भिक प्रशिक्षण सम्पन्न

  

कबिलासी महिला जनप्रतिनिधि संजाल निर्माण गर्दै  चौथो  मोड्युलको  प्रारम्भिक प्रशिक्षण सम्पन्न 



लोकतन्त्र समाचारदाता----

सर्लाही,फाल्गुन १९

      स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुलाई  शसक्त बनाउने अभियानमा लागेका माण्डवी नामक गैर सरकारी संस्थाले कबिलासी नगरपालिकाका महिला जनप्रतिनिधिहरुको लागि संचालन गरेको  चौथो मोड्युलको प्रारम्भिक प्रशिक्षण सम्पन्न भएको छ।

     सर्लाहीको सदरमुकाम मलंगवामा गत मंगलबारदेखि सुरु भएको प्रशिक्षण शुक्रवार शोभा कुमारी चौधरीको संयोजकत्वमा २१ सदस्यीय कबिलासी महिला जनप्रतिनिधि संजाल निर्माण गर्दै सम्पन्न भएको छ।संजालले योजना र बजेट सम्बन्धि विस्तृत तालिमको लागि पालिका सँग पैरवी  तथा निर्माण र योजनाहरु तयार गर्ने लगायतका कामहरु गर्ने माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले बताएका छन् ।

    आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीले कबिलासी न.पा  कार्यपालिका महिला सदस्यहरुको नेतृत्व भूमिकालाई निरन्तरता दिंदै उनीहरूको आत्मविश्वास र नेतृत्व सिपलाई निखार्दै उनीहरूको भूमिकालाई अझ बढी प्रभावकारी ढंगबाट निर्वाह गर्न थप सीप र ज्ञानको विकास गर्ने उदेश्यले तालिमको आयोजना गरेको  कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जनाएको छ।

      उपमेयर एवं नगरपालिका संघ केन्द्रीय सदस्य पुनम कर्णले उद्घाटन गरेको  तालिमको ४ दिने अवधीमा सहभागीहरुलाई व्यक्तिगत उत्थनशिलताको विकास ,वार्ता ,शक्तिको परिचय र शक्तिको मान,स्थानीय सरकारको योजना तर्जुमा ,कार्यान्वयन र अनुगमन,स्थानीय सरकारको बजेट निर्माण प्रक्रिया ,वार्ता , तथा पैरवीको परिचय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। 

      कबिलासी न.पा अन्तर्गतका १० वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागीता रहेको तालिममा  प्रशिक्षक द्वय प्रभु चौधरी र रमा कुमारी पौडेलले सहजिकरण गरेका थिए।


No comments:

Post a Comment