Thursday, September 9, 2021

आज हरितालिका तीज महादेवको पूजा आराधना गरी मनाइँदै, मन्दिरहरूमा बिहानैदेखि घुइँचो

    २४ भाद्र २०७८, बिहिबार



काठमाडौँ – आज हरितालिका तीज हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । देशका विभिन्न मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । अटल सौभाग्य, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीज पर्वको अवसरमा सरकारले महिलालाई बिदा दिएको छ ।

No comments:

Post a Comment