Tuesday, September 14, 2021

५७ औं राष्ट्रिय बाल दिवस मलंगवामा विभिन्न कार्यक्रम गरि सम्पन्न




मनोज यादव---

सर्लाही ,भदौ २९

       देशभरसहित सर्लाहीको सदरमुकाम मलंगवामा पनि ५७ औं  राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।“समृद्ध राष्ट्रको मुल आधार ,सुरक्षा र मुस्कान सहितको बाल अधिकार ” भन्ने मूल नाराका साथ बाल दिवस मनाइएको हो।

     नेपाल बाल संगठन जिल्ला कार्य समिति सर्लाहीले  आइतवार २७ गतेदेखि नगर भित्रका सरकारी तथा संस्थागत विद्यालयहरु बिच २९ गतेसम्म विभिन्न प्रतियोगिता, प्रभात फेरी तथा अन्तरक्रियाको आयोजना गरि यो दिवस मनाइएको हो ।संगठनले  मलंगवा नगरपालिका वडा न-८ स्थित बाल मन्दिरको सभाहलमा भएको कार्यक्रमको पहिलो दिन २७ गते "कोरोना संक्रमण तथा सावधानीका उपाय"शिर्षकमा चित्रकला, कोरोना संक्रमण कालमा बालबालिकाको अवस्था तथा प्रभावको विषयमा वक्तृत्व कला प्रतियोगिता तथा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो साथै  दिवसको दिन नगर भित्रका सबै विद्यालयहरुको सहभागीतामा प्रभात फेरी गरिएको थियो ।

    अन्तिम  अर्थात राष्ट्रिय बाल दिवसका दिन बाल संगठनका सभापति शमिमबाबु खानको अध्यक्षता तथा मलंगवा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रमका बिच प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।प्रतियोगितामा क्रमश: चित्रकला तर्फ समूह क बाट सगरमाथा आवासिय आधारभूत विद्यालयका जय साह प्रथम ,पब्लिक मावि मलंगवा-२ की नेहा सर्राफ द्वितीय र ग्रिनलैण्ड उमावि की निभा यादव तृतीय र समूह ख बाट ग्रिनलैण्ड की लक्ष्मी यादव प्रथम,गडगिफ्टका राजु कुमार साह द्वितीय तथा विद्या सागरकी मन्ती कुमारी साह तृतीय भएका छन् ।यसैगरी वक्तृत्व कला तर्फ  सगरमाथा कि अनुष्का महतो प्रथम,पब्लिक माविकी मेघा कुमारी झा र आधारभुत विद्यालय खुटौनाकी प्रतिमा यादव द्वितीय र साउथ प्वाइन्ट विद्यालयकी संस्कृत संजिवनी तृतीय भएका छन् ।यस्तै हाजरी जवाफ प्रतियोगिता तर्फ सगरमाथाका कविन्द्र यादव र खुसी यादव प्रथम,जनता आधारभुत खुटौनाका मनिष कुमार यादव र पंकज यादव द्वितीय र विद्या सागर विद्यालयका गीता कुमारी र सुप्रदा दास तृतिय भएको कार्यक्रमका संचालक एवं बालमन्दिरका लेखापाल राम लक्षण महतोले जनाएको छ ।प्रतियोगितामा मलंगवा नगरभित्रका ८ वटा विद्यालयले सहभागीता जनाएका थिए।

    कार्यक्रममा उपस्थित विशिष्ट अतिथि उपमेयर शान्ती सबनम मिकरानी लगायत अतिथि वक्ताहरु सरकारी वकिल कार्यालय प्रमुख केशव गौतम  ,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य एवं समाजसेवी डा.अब्दुल रहिम मिकरानी,नेकपा एकीकृत समाजवादी सर्लाहीका जिल्ला कार्यवाहक अध्यक्ष देवेन्द्र यादव,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह, सहारा विकास बैक तथा  चेम्बर अफ कमर्सका अध्यक्ष संजय गुप्ता(सुगन्ध) ले विगत एक दशक भन्दा बढी समयदेखि मनाउन छाडिएको राष्ट्रिय बाल दिवसको आयोजना गरेर संगठनका सभापति खानले उदाहरणीय र सराहनीय कार्य गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई जारी राख्दै बालबालिकाको समग्र विकासको लागि स्थानीय निकाय तथा विभिन्न दातृ संस्थाहरु सँग सहयोगका लागि पहल गर्न सुझाव दिएका थिए ।

      दिवसकै अवसर पारेर समयसमयमा बालगृहमा आश्रित अभिभावक विहिन बालबालिकाहरुको लागि विभिन्न तरिकाबाट  सहयोग पुर्याउँदै आएका स्थानीय दाता तथा संघसंस्थाहरुलाई पनि सभापति खानले बाल संगठनको तर्फबाट कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

    बालमन्दिर विद्यालयका प्रअ जितेन्द्र लाल दासले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत होमनाथ सुवेदी ,डिएसपी माधव प्रसाद बुढाथोकी ,राष्ट्रिय अनुसंधान विभाग सर्लाहीका प्रमुख दिलिप सिंह, मुस्लिम आयोगका शेख मोहम्मद महबुब रेजा,बाल कृष्ण कर्ण, गोविन्द लाल कर्ण, तिलक क्षेत्री ,अमरनाथ जयसवाल, शिक्षक , विद्यार्थी तथा पत्रकारहरु लगायतको सहभागीता रहेको थियो ।

    बाल दिवसको अवसरमा पहिलो पटक कार्यक्रम तथा प्रभातफेरीमा सहभागी हुन पाएका बालबालिकाहरु निकै उत्साहित देखिएका थिए ।यस अघि कुनैपनि दिवसको अवसरमा विद्यालयको तर्फबाट जुलुसहरुमा सहभागी हुन नपाएको उनीहरूले बताएका छन् ।

    




No comments:

Post a Comment