Tuesday, September 14, 2021

ठेकेदार फरार भएपछि मलंगवा नगरपालिका वडा न-७ मुसैलीको बडकी पोखरी सौंन्दर्यीकरण तथा छठघाटको निर्माणकार्य अलपत्र



---- ठेक्का अवधी सक्किन ३ महिना बाकी रहँदा  मात्र २० प्रतिशत काम सम्पन्न---


मनोज यादव---

सर्लाही ,भदौ २९

      १५ महिनामा सम्पन्न गरिसक्ने सम्झौता भएको निर्माणकार्य बिचमै छाडेर ठेकेदार फरार भएपछि सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-७, मुसैली स्थित बडकी पोखरीको सौन्दर्यकरण तथा छठघाटको निर्माणकार्य अलपत्र परेको छ । 

 आन्तरिक पर्यटनलाई बढावा दिन स्थानीय केही युवाहरुको पहलमा मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मुसैलीको श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको दशकौं पुरानो करिब १० बिगहा क्षेत्रफलमा फैलिएको उक्त पोखरीलाई  सौन्दर्यकरण गरेर पार्क र छठीघाट निर्माण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले  गत (२०७७)साल असोज ४ गते १५ महिनामा काम सम्पन्न गर्ने गरि करिब ६ करोर १२ लाख ९३ हजार रुपैयाँमा एम.आर. आर जे कमल जेभी जनकपुरधामलाई ठेक्का दिएको थियो  । तर सम्झौता अनुसार काम सम्पन्न गर्ने समय बित्न अब ३ महिना बाँकी रहँदा २० प्रतिशत मात्र काम भएको छ । पोखरीको सौर्न्दर्यकरण गर्न ठेकेदार कम्पनीले बनाएको पर्खाल काम सुरु गरेको एक महिना नबितदै भत्कीएको छ। सम्झौता अनुसार २०७८ साल पुस ६ गते यसको समय सकिदैं छ ।

      यसका लागि  प्रदेश -२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीय सांसद महेन्द्र यादव , प्रदेश सांसद एवं प्रदेश मामिला समितिका सभापति अशोक यादव लगायतको उपस्थितिमा  गत वर्ष आश्विन ७ गते शिलान्यास गरेका थिए । शिलान्यास गरेको ३ महिना पछि काम सुरु गरि ३ महिना लगातार काम गरेर होलीको समय चैत्र महिनामा काम बन्द गरेर  पुनः बैशाखदेखि काम सुरु गरि  एक महिना पछि अचानक कसैलाई कुनै जानकारी नदिई  बिचमै काम रोकेर ठेकेदार खुसीलाल ठाकुर  फरार भएपछि निर्माणकार्य अलपत्र अवस्थामा पुगेको स्थानीय युवा सुजित यादवले बताए ।

    ठेकेदार फरार भएपछि काम लथालिङ्ग अवस्थामा रहेको छ ।सो अवधीमा  बनाइएको  पर्खाल, पोखरीको किनारमा घाट बनाउनको लागि गाडिएको फलामे छड सबै भत्किएका छन्। 

    सौन्दर्यकरण गरिनुपर्ने उक्त पोखरी श्री बौधीदेवी जनता माविको अधिनमा रहेपनि विधालयका प्रअ अथवा व्यवस्थापन समिति तथा स्थानीयबासी समेतलाई कुनै जानकारी नगराई ठेकेदारले मनपरि गरेको स्थानीयको गुनासो छ ।

     पोखरीको छेउमे बौधी माई, शंकर भगवान लगायत अन्य थुप्रै देवी देवताहरुको दशकौं पुरानो मन्दिरहरु रहेका छन् ।उक्त पोखरीमा गाउँभरीका महिला तथा पुरुषहरु छठ पुजा लगायत अन्य पुजा पर्व मनाउँदै आएका छन् ।तर  ठेकेदारको हेलचक्राई तथा लापरवाहीका कारण मलंगवा नगरपालिका वडा न-७  मुसैलीका सम्पूर्ण बासिन्दाको आस्थासंग  खेलवाड भईरहेको एक स्थानीयले दुखेसो पोखे।  प्रत्येक वर्ष छठ पर्व मनाइने उक्त पोखरीमा खाल्डा खुल्डी गरि बेवारिसे अवस्थामा छाडिएकाले  यस पालिको छठ पर्व  मनाउने   समेत वातावरण नरहेको स्थानीयले गुनासो गरेका छन्  । आफुहरुलाई ठेकेदारले छठ पुजाको लागि घाट निर्माण गरेर  जाने आश्वासन दिएपनि छठ आउन अब केही दिन मात्र बाँकी रहँदा काममा हात समेत लगाएका छैनन् । 

      बिचमै काम रोकेर ठेकेदार खुसीलाल महतो सम्पर्क विहिन भएपछि  विगत २ महिनादेखि निर्माणकार्य ठप्प भएको छ । ठेकेदार कम्पनी सँग योजना सम्पन्न गर्न बाँकी रहेको ३ महिनाको अवधि भित्र निर्माणकार्य सम्पन्न  हुने कुनै  छाटकाट देखिदैन ।

    यस बडकी पोखरीबाट विधालयले राम्रो आम्दानी गर्दै आएको छ ।यो पोखरी विद्यालयको आम्दानीको मुख्य श्रोत पनि रहेको छ  । माछापालनका निम्ति विद्यालयले करिब १ करोर १७ लाखमा ५ वर्षका लागि पोखरी ठेक्का लगाएको थियो । करिब २ लाख महिनाको आम्दानी उठाउने विधालयलाई समेत पोखरी कहिले र कुन जमानामा सौन्दर्यकरण हुने हो ? भन्ने पीर परेको छ । यसै गरि ठेकेदार कम्पनीले  काममा हेलचक्राइ गरि  १५ महिनामा सम्पन्न हुने योजनालाई  १५ वर्ष लगायो भने विधालयको करोडौं  रुपैयाको नोकसानी हुने स्थानीयहरुले आंकलन गरेका छन्।

     योजनामा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न  अख्तियारको केन्द्रीय कार्यालय काठमाडौ र क्षेत्रीय कार्यालय बर्दिबासमा समेत उजुरी गरिसकेको तर उताबाट हालसम्म कुनै प्रतिक्रिया आइनसकेको स्थानीय युवा सुजित यादवले बताए ।

     काममा ढिलासुस्ती ,हेलचक्राइ तथा  कमसल सामाग्रीहरुको  प्रयोग गरेर गुणस्तरहीन काम गरेकोले ठेकेदार कम्पनी माथि कारवाही हुनुपर्ने स्थानीयहरुको माग छ ।बनाइएका सम्पुर्ण भौतिक संरचनाहरु २ महिना नबित्दै भत्किएकाले निर्माणमा कमसल सामाग्री प्रयोग गरेर ठेकेदार कम्पनी र प्रविधिकको मिलोमतोमा व्यापक अनियमितता भएको  उनीहरुको आरोप छ ।


        



No comments:

Post a Comment