Tuesday, September 28, 2021

सन्तानको दीर्घायुको कामना गर्दै जितिया पर्व सुरु

  

अजिता चौधरी ---

सर्लाही ,असोज १२

   सर्लाही सहित तराई मधेसमा जितिया पर्व सुरु भएको छ ।

छोराछोरीको दीर्घायुको कामना गर्दै यहाँका महिलाहरुले जितिया पर्व श्रद्धाका साथ मनाउने गरेका छन् ।

     यस पर्वको पहिलो दिन विवाहित महिलाहरुले  बिहान जलाशय पुगेर पूजाअर्चना गर्दै ब्रत शुरु गरेका छन्। पितृपक्षको सप्तमी तिथिमा व्रत बस्ने महिलाले पवित्र जलासयमा नुहाएर (नहायखाय) घिरौलाको पातमा तोरीको पिना र तेल जिमुतवाहन भगवानलाई चढाएर व्रतको आरम्भ गरेका हुन्।

   हरेक खाले विपद तथा दुःख कष्टबाट जोगिन र परिवार एवं सन्तानको रक्षार्थ महिलाहरु जितिया मनाउने गर्दछन्। घटस्थापना भन्दा केही अगाडि असोज कृष्ण अष्टमीदेखि तीन दिनसम्म जितिया मनाउने गरिन्छ। यस पर्वमा सन्तान तथा पतिको सुखसमृद्धिका लागि स्याल, बाज र मृत श्रेष्ठजनको पूजा गर्ने परम्परा रहेको छ। यस पर्वको पहिलो दिन ब्रतालु महिलाहरु ‘नहाय खाए’ अर्थात नुहाएर शुद्ध भई खाने गर्छन । नहाय खाय ब्रतका दिन ब्रतालु महिलाहरु नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर लगायतका सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहनलाई चढाउने गर्दछन्। यो पर्वमा ब्रतालु महिलाहरुले ‘नहाय खायको’ दिन ब्रतालु महिलाहरुले माछा र कोदोको रोटी खाने परम्परा रहेको छ।

   पर्वको दोस्रो दिनदेखि ब्रतालुहरु २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन्। ब्रत बसेका महिलाहरु एकै स्थानमा जम्मा भई भगवान जितवाहनको कथा सुन्ने परम्परा समेत रहेको छ। जितिया ब्रत बसेका महिलाहरुले थुकसमेत निल्न नहुने मान्यता रहेको छ। ब्रतालु महिलाले थुक निले ब्रत नै टुंगिने बर्तालु महिलाहरु बताउँछन्। यस व्रतमा पानीसमेत नखाने र व्रत अवधिभरी व्रतालुले केही सामान नभाँच्ने, सियो नचलाउने, कुचो नछुने, जुठो नछुनेजस्ता कडा नियमहरुको पालन गर्नुपर्छ। 

  कथा अनुसार सतयुगमा एक दम्पत्तिले आफ्नो एकमात्र छोरालाई गाउँमा रहेको दुष्ट गरुडको आहार नबनोस् भनी भगवानसँग प्रार्थना गरेर जितवाहन भगवानको पूजा अर्चना गरेका थिए। उनको पूजाले खुशी भएका भगवानले बालबालिकालाई खाने गरुडलाई आफ्नो शरणमा लिएर त्यस दम्पत्तिको छोरासहित गाउँका अन्य बालबालिकालाई पनि मृत्युबाट जिवित पारेको हुनाले यो पर्व आफ्नो छोराछोरीको दीर्घायुको लागि मनाउन थालिएको भनाइ छ।

    जितिया पर्वको अवसरमा केन्द्र सरकारले प्रत्येक वर्ष महिलाका लागि सार्वजनिक विदा दिंदै आएकोमा यसपाली भने बिदा नदिएकोमा सरकार प्रति महिलाहरु रोष प्रकट गरेका छन् ।

No comments:

Post a Comment