Monday, September 13, 2021

सर्लाहीका बजारहरुमा तरकारीको मुल्य आकाशियो, उपभोक्ता मारमा

 





लोकतन्त्र समाचारदाता---

सर्लाही, भदौ २८

      उत्पादन घटेपछि सर्लाहीका बजारहरुमा तरकारीको मूल्य आकाशिएको छ । निरनतर बर्षाका कारण किसानले लगाएको तरकारीको उत्पादन घटेपछि बजारमा आउने सबै खाले तरकारीको मुल्य दोब्बर हुँदा आम उपभोक्ताहरु मारमा परेका छन् ।

     केही दिन अघिको भन्दा अहिले सबै तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ । जिल्लाको सबै हाटबजारमा यतिखेर  खुर्सानी ,फूलकोभी , बोडी, करेला,पर्वल , भान्टा , करेला, च्याउ ,हरियो धनिया  लगायत अन्य हरियो तरकारीको प्रतिकिलो मूल्य दोब्बरले बढेको मलंगवाका एक तरकारी ब्यापारीले बताए । झरीका कारण तरकारीको उत्पादनमा कमि हुने भएकोले बजारमा स्थानीय तरकारी पर्याप्त नआउँदा मूल्य बढ्दै गएको ब्यापारीले बताए । भरीले उत्पादनमा कमि आएपछि दैनिकजसो तरकारी बेच्न ल्याउने किसानले समेत तरकारी ल्याउन छाडेका छन् । 

    लामो समयदेखि बर्षा भइरहँदा जिल्लाको दक्षिणी क्षेत्रमा डुवान भएकोले तरकारीको बोट मर्ने र समयमा नयाँ तरकारी खेती लगाउन समस्या भएकोले हरियो तरकारी उत्पादनमा कमी भएको बरहथवा नगरपालिका वडा न–५ पानीट्यांकी टोलका किसान चन्द्रिका महतोले बताए ।

      सबैभन्दा बढी तरकारीको किनबेच हुने जिल्लाको सदरमुकाम मलंगवासहित लालबन्दी नवलपुर, हरिवन, नयाँरोड, कर्मैया, सोल्टी,  हरिपुर, बरहथवा, बयलवास, गोडैता लगायत सबैजसो  ग्रामीण बजारमा तरकारीको मूल्य बढेको उपभोक्ताहरुले बताएका छन् । स्थानीय स्तरमै पर्याप्त तरकारी नआउँदा सर्लाहीबाट देशका विभिन्न स्थानमा निर्यात हुने तरकारीको परिमाणमा समेत कमि आएको लालबन्दी स्थित कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ । 

   अन्य समय भन्दा चाडपर्वमा तरकारीको खपत बढि हुने भएकोले यसपालिको दशैंमा तरकारीको मुल्यमा अझ बृद्घिहुने सम्भावना रहेको ब्यापारीहरु बताउँछन् ।

No comments:

Post a Comment