Thursday, September 30, 2021

ग्रामीण क्षेत्रमा पेट्रोलको खुलेआम कालोबजारी

 



 -----नियमन निकाय स्वयं ठगींदै----

मनोज यादव----

सर्लाही ,असोज १४

     सर्लाहीको ग्रामीण क्षेत्रमा पेट्रोलियम पदार्थको व्यापक रुपमा कालोबजारी हुने गरेको पाइएको छ। पेट्रोल पम्पबाट मात्र प्रज्वलनशील पदार्थको किनबेच गर्न पाईने सरकारको नियम भएपनि गाउँघरमा भने सानातिना पान पसलदेखि तरकारी पसलमा समेत पेट्रोलियम पदार्थको किनबेच हुँने गरेको छ।यसरी सरकारी नियमको वेवास्ता गर्दै पेट्रोलियम पदार्थको बिक्री भइरहेको देख्दादेख्दै नियमन  निकाय मौन रहँदै आएका छन्  ।

   पेट्रोलियम पदार्थको बिक्रीवितरणका लागि लाइसेन्स लिनुपर्ने हुन्छ तर  बिना लाईसेन्स पेट्रोल बेच्दै आएका ब्यापारीहरु ग्राहकसँग मनमर्जी रकम असुल्ने गरेका छन ।यस विषयमा  प्रशासनले मौनता देखाउँदा ग्राहकहरु खुलेआम ठगीको सिकार बन्दै आइरहेका छन् । 

     जिल्लामा रहेका  पेट्रोल पम्पले नियमित रुपमा पेट्रोलको विक्री वितरण गर्दै आएपनि अबैध रुपमा पेट्रोल विक्रिमा कालोबजारी भइरहँदा पनि नियमन निकायहरुले अनुगमन गर्न सकेका छैनन् ।सहर बजारका पसलहरु देखि लिएर गाउँघरमा संचालित   किराना पसल, नास्ता पसल ,फेन्सी पसल,पान पसल र तरकारी पसल संचालकहरुले  बर्षौंदेखी ‘मिनरल वाटर’ को बोतलमा राखेर पेट्रोल बेच्दै आएका हुन् । यसरी मिनिरल वाटरको बोतलमा राखिएको पेट्रोलको मापन पुरै एक लिटर नहुने मलंगवाका स्थानीय युवाले बताए ।त्यस्ता पसलेहरु पेट्रोल पम्पबाट ठुला ठुला ड्रम र ग्यालनमा पेट्रोल किनेर लाने र आआफ्नो पसलमा एक लिटरको मिनिरल वाटरको बोतलमा भरेर सरकारले तोकेको मुल्य भन्दा बढी रकम लिएर ग्राहकहरुलाई खुद्रा  बिक्री गर्ने गरेका छन् ।उनीहरू ग्राहकहरुबाट एक लिटर भनेर बिक्री गरेको पेट्रोलको मूल्य पम्पमा तिर्नुपर्ने मूल्यको भन्दा २० देखि ३० रुपैया बढी लिएर बेच्ने गरेका छन् । प्रति एक लिटर पेट्रोलमा एक हजार एमएल पेट्रोल हुने भएता पनि ब्यापारीहरुले मिनरल वाटरको बोतलमा बेच्दै आएको पेट्रोल जम्मा ८ सय  एमएल मात्रै हुन्छ ।

   प्लास्टिकका भाँडामा राखेको र धुलाकण मिसिएको पेट्रोल प्रयोग गर्दा इन्जिन चाँडै बिग्रने मलंगवा नगरपालिका वडा न-९ स्थित एक मोटरसाइकल रिपेयरिङ्ग सेन्टरका मेकानिक हुसनैनले बताए । व्यापारीले १ लिटरको पैसा लिएर  कम परिमाणमा पेट्रोल बिक्री गरेर ग्राहकलाई ठग्दै आएका छन् ।

    सर्वसाधारण जनतामात्र नभइ गलत कामको निगरानी गर्ने  जिल्लाका उच्चपदस्थ कर्मचारीहरु समेत जथाभावी अवैध रुपमा बिक्री हुने पेट्रोल किनिरहेका छन् ।

No comments:

Post a Comment