Thursday, September 2, 2021

सर्लाहीका ७ जना निर्वाचित पालिका प्रमुखहरु मध्ये महन्थ ठाकुरको पार्टी लोसपालाई ५ जनाको समर्थन



---२ जना मात्र उपेन्द्र यादवको पक्षमा---- 


मनोज यादव------

सर्लाही, भदौ १७ 

     महन्थ ठाकुरको पार्टी तत्कालिन राजपा र उपेन्द्र यादवको पाटी तत्कालिन फोरम नेपालबाट गत स्थानीय निर्वाचनमा सर्लाही जिल्लाबाट जम्मा ७ वटा पालिकाहरुमा विजयी भएका थिए । वर्तमान अवस्थामा महन्थ ठाकुर र उपेन्द्र यादव बिच बिवाद शुरु भएपछि पार्टी विभाजन पश्चात सर्लाहीका ७ जना पालिका प्रमुख मध्ये ५ जनाले महन्थ ठाकुरको पाटी लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई समर्थन गर्दै ५ जना निर्वाचित पालिका प्रमुखहरुले जिल्ला निर्वाचन कार्यालय मलंगवामा बिहिवार सनाखत गरेका छन् ।

यो संगै ८५ प्रतिशत पालिका प्रमुखहरु उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर महन्थ ठाकुरको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई समर्थन गर्दै सनाखत गरेको हो। 

      पार्टी विभाजन अध्यादेश अनुसार राजनीतिक दललाई भदौ २२ गतेसम्म  निर्वाचन कार्यालयले  दिएको पार्टी रोज्ने समयको सदुपयोग गर्दै मलंगवा स्थित जिल्ला निर्वाचन कार्यालयमा गएर ५ वटा पालिका प्रमुखहरुले सनाखत गरेका हुन् । (बिहिवार) १७ गते कौडेना गाउँपालिकाक प्रमुख राम प्रसाद यादव, चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतो, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादव र बलरा नगरपालिकाका प्रमुख अभय सिंहले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

      ब्रह्मपुरी गाउँपालिकाका प्रमुख विनोद साहले बुधबार नै आफ्नो पालिका अन्तर्गतका वडाबाट निर्वाचित २९ जना जनप्रतिनिधिहरु सहित सनाखत गराइसकेको कार्यालयले जनाएको छ । सर्लाहीमा अब २ जना पालिका प्रमुखहरु मात्र उपेन्द्र यादवको जनता समाजवादी पार्टीमा बचेका छन् । यो संगै सर्लाहीमा महन्थ ठाकुरको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ठुलो दलको रुपमा उदयमान भएको जानकारहरुको भनाई छ । 

     निर्वाचन आयोगले निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय दिएको छ । सरकारले हालै ल्याएको अध्यादेश अनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएका छन् । यी दुबै दल विभाजित भई यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् । अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भए अनुसार भदौ २२ गतेभित्र दुबै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने छ । सोही अनुसार प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने हुन्छ । सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा/स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने हुन्छ ।

No comments:

Post a Comment