Wednesday, November 2, 2022

गाउँ गाउँमा लामखुट्टेको आतंक, डेंगु फैलने जोखिम बढ्दै, सम्बन्धित पालिकाहरु मौन ,निर्वाचित जनप्रतिनिधिहरु पनि आआफ्नो जिम्मेवारी बिर्सेर चुनावमा सकृय

 


 निर्वाचित जनप्रतिनिधिहरु  आआफ्नो जिम्मेवारी बिर्सेर  चुनावमा सकृय 



मनोज यादव---

सर्लाही,कात्तिक १६

    विगत दुई  वर्षदेखि कोरोना भाइरस(कोभिड-१९)को महामारीबाट आक्रान्त भएको नेपालमा यस वर्ष फेरि डेंगुको प्रभाव बढ्दै गएको छ। 

   अहिले देशभरिनै डेंगु रोगले महामारीको रुप लिइरहेको छ। सर्लाहीमा पनि यसको प्रभाव परिरहेको अवस्थामा  डेंगु रोगको जोखिम नियन्त्रणका लागि यहाँका स्थानीय तहहरु केहीपनि नगरी हातमा हात राखेर मौन बसेका छन् ।

    सर्लाहीको बीस वटै स्थानीय तहहरु मध्ये एकदुई वटाले मात्र डेंगु रोग नियन्त्रणको लागि काम गरेका छन् । तर अधिकांश स्थानीय तहहरुले भने सर्वसाधारणहरुलाई डेंगु रोग लाग्न सक्ने कारण ,बच्ने उपाए र संक्रमण भइहालेमा अपनाउनुपर्ने   विधिलगायतको बारेमा हालसम्म कुनैपनि जानकारीमूलक संदेशहरु प्रवाह गरेका छैनन् नत डेंगु फैलाउने मुल कारक लामखुट्टे मार्ने उपाए नै गरिरहेका छन्।

    यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ।यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले यो रोग सार्ने लामखुट्टे सहरमा बढी देखिएको प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट नवल किशोर झा ले बताए । 

    डेंगु मात्र नभई हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरिया लगायतका घातक रोगहरु पनि लामखुट्टेबाटै सर्ने हुनाले त्यस्ता रोगहरु फैलिन नदिन अन्य निकायहरुको जस्तै स्वास्थ्यको पनि जिम्मा लिएको स्थानीय तहले  सबैभन्दा पहिले पानी जमेको ठाउँ र फोहर नालाहरु सफा गर्न लगाएर  औषधि छर्किने काम गर्न अतिआवश्यक रहेको मे.सु झाले भने।

     अहिले जिल्लाभरीका सबै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु  डेंगु जस्तो गम्भीर समस्यालाई बिर्सेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा लागेका छन्। चुनावले गर्दा पालिका प्रमुख देखि वडा प्रमुखसम्म सबै जनप्रतिनिधिहरु आम नागरिकको स्वास्थ्य प्रति ख्याल नराखी चुनावमा आफ्नो पार्टीको नेताको जित कसरी हुन्छ भन्ने तर्फ मात्र आफ्नो ध्यान केन्द्रीत बनाएको स्थानीयहरुले गुनासो गरेका छन् ।

    यस्ता खालका महामारी तथा स्वास्थ्य  समस्याहरूको नियन्त्रणको जिम्मेवारी स्थानीय तहको नै भएकोले आफ्नो ध्यान चुनावबाट हटाएर डेंगु रोगको नियन्त्रण तथा रोकथाम कसरी हुन्छ भन्ने तर्फ ध्यान केन्द्रित गरि  जवाफदेहीपूर्ण तरिकाले  काममा लाग्न सम्बन्धित पालिकाका स्थानीय नागरिकहरुले  पालिका प्रमुख तथा वडाप्रमुखहरु सँग अनुरोध गरेका छन् ।


No comments:

Post a Comment