Monday, November 28, 2022

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइ मतपरिणाम सार्वजनिक



सर्लाहीको चारवटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइ मतपरिणाम सार्वजनिक

मनोज यादव---

सर्लाही,मंसिर १२

      यही मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाही जिल्लाको चारवटै निर्वाचन क्षेत्रको सम्पुर्ण मत गणना सम्पन्न भई नतिजा सार्वजनिक भएको छ।

      सबैभन्दा पहिला क्षेत्र न-१ को प्रदेश सभाको नतिजा सार्वजनिक भएको थियो। शनिवार अबेर राति सम्पन्न  भएको क्षेत्र नम्बर २ को अन्तिम मतगणनासँगै जिल्लाको सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। यो सँग यस जिल्लाले ४ जना प्रतिनिधि सभा  र ८ जना प्रदेश सभा सांसदहरु पाएको छ।

     जिल्ला निर्वाचन कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ मा सत्तारुढ बाम लोकतान्त्रीक गठबन्धनका राम प्रकाश चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन भने  प्रदेश सभामा क्षेत्र न- १ को (क)मा लोसपाका उपेन्द्र महतो  र (ख) मा बेची लुंगेली निर्वाचित भएका छन् ।महतो र लुंगेली पुनः दोस्रो पटक निर्वाचित भएका हुन्।सो क्षेत्रमा प्रतिनिधि सभाका लागि १९ जना र प्रदेश सभाका लागी २९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

    त्यसैगरि क्षेत्र न-२ मा प्रतिनिधि सभामा नेपाल समाजवादी पार्टी (नेसपा)का महेन्द्र राय यादव निर्वाचित भएका छन । उनले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर चुनाव लडेका थिए।यादव लोसपाका राजेन्द्र महतोलाई २ हजार ११ मतले पराजित गरेका हुन । प्रदेश सभातर्फ क्षेत्र न-२ (क) मा नेपाली कांग्रेसका जंगीलाल राय बिजयी भएका छन् भने (ख) मा नेपाली कांग्रेसकै कौशल किशोर राय विजयी भएका छन ।यस क्षेत्रबाट  प्रतिनिधि सभाका लागी १७ जना र  प्रदेश सभाका लागी ३१ जनाले उमेदवारी दिएका थिए ।

     क्षेत्र न- ३ मा प्रतिनिधि सभामा नेकपा एमालेका हरि उप्रेती विजयी भएका छन् भने प्रदेश सभामा (क)बाट स्वतन्त्र उमेदवार जवाहरलाल कुशवाहा र (ख)बाट जसपाका संजय कुमार यादव निर्वाचित भएका छन ।सो क्षेत्रमा  प्रतिनिधि सभाका लागी  १३ जना र प्रदेश सभाका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।

    क्षेत्र न-४ मा स्वतन्त्रबाट अमरेश कुमार सिंह बिजयी भएका छन ।सिंहले नेपाली काँग्रेसबाट टिकट नपाएपछि अन्तिम समयमा आएर पार्टीबाट बगावत गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।त्यसैगरी क्षेत्र न-४ को (क) मा नेपाली कांग्रेसका बिरेन्द्र प्रसाद सिंह र (ख)मा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन ।सो क्षेत्रबाट प्रतिनिधिसभाका लागि २० जना र प्रदेश सभाका लागि  ३६ जनाले उम्मेदवारी दिएका थिए ।

    विजेता सबै सांसदहरु अहिले  मतदाताहरुलाई धन्यवाद दिन आ-आफ्नो क्षेत्रमा विजयी जुलुस लिएर घुमिरहेका छन् ।

No comments:

Post a Comment