Monday, November 21, 2022

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रको मतगणना चल्दै,सर्लाही जिल्लाकै इतिहासमा पहिलो पटक गोली नचलि शान्तिपुर्ण तरिकाले सम्पन्न मतदानमा ६३ प्रतिशत मत खस्यो,तर जनताहरुमा उत्साह देखिएन

 

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रको  मतगणना चल्दै,सर्लाही जिल्लाकै इतिहासमा पहिलो पटक गोली नचलि शान्तिपुर्ण तरिकाले सम्पन्न मतदानमा ६३ प्रतिशत मत खस्यो,तर जनताहरुमा उत्साह देखिएन

मनोज यादव----

सर्लाही,मंसिर ५

    सर्लाहीमा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को मतगणना चारवटै निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो अढाई  बजेदेखि सुरु भएको छ।    

    आईतबार साँझ ५ बजे मतदान सम्पन्न भएपनि  मतदान अधिकृतहरुलाई मतपेटिका सिल गर्ने, मुचुल्का उठाउने लगायत कार्य गरेर सुरक्षा अधिकारी, उम्मेदवारका प्रतिनिधिहरु सबैको रोहबरमा सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय(मतगणना स्थल)सम्म ल्याउन निकै समय लागेको र मतगणना स्थलको व्यवस्थापन गर्न समेत समय लागेकोले सोमबार बिहान ११ बजे बसेको सर्वदलीय बैठक पश्चात् अढाई बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपाने जानकारी दिए। मतपेटिकाहरु बिहान २ बजेसम्म ल्याउने क्रम चलेको न्यौपानेले बताए ।

      मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको चारवटै क्षेत्रमा गरि जम्मा ६३.५४ प्रतिशत अर्थात ३ लाख १६ हजार ७३ मत खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।४ लाख ७९ हजार ३८ जना मतदाता रहेको सर्लाही जिल्लामा  प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

     सुरक्षाकर्मीहरुको कडा निगरानीमा जिल्लाको ३१२ मतदान स्थल अन्तर्गत ६०० मतदान केन्द्रहरुमा भएको मतदान कार्यमा सामान्य बाहेक कुनै अपृय घटना नभएको र मतदान गर्ने देखि लिएर मतपेटिका ओसार्ने सम्मको काम शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।

    सर्लाही जिल्लाको इतिहासमै  पहिलोपटक गोली गठ्ठा नचलिकन शान्तिपूर्ण मतदान कार्य सम्पन्न भएको छ । सबैभन्दा विवादस्पद मानिदै आएको ४ नं निर्वाचन क्षेत्रमा समेत शान्तिपुर्ण मतदान कार्य सम्पन्न भएको गौतमले जानकारी दिए।

    अहिले जिल्लाको क्षेत्र न-१ को लालबन्दी,२ को सदरमुकाम मलंगवा ,३ को हरिवन र ४ को गोडैता स्थित   निर्वाचन अधिकृतहरुको कार्यालयमा मतगणना कार्य चलिरहेको छ।मत परिणाम सुन्न मतगणना स्थल वरिपरि दलका नेता,कार्यकर्ता तथा उमेदवारका समर्थकहरुको बाक्लो भिड लागेको छ।मतगणना स्थल वरिपरि दल तथा उमेदवारहरुले आफ्ना समर्थकहरुको लागि अस्थायी टेन्टहरु बनाएका छन् ।

   

No comments:

Post a Comment