Tuesday, August 9, 2022

सर्लाहीमा बोक्सीको आरोप लगाएर एकल महिलामाथि कुटपिट

 

===मानवअधिकारकर्मी,पत्रकार,बुद्धिजीवी,राजनितीकर्मी लगायतकाहरु सँग न्यायको गुहार===

मनोज यादव---

सर्लाही,साउन २४

   सर्लाहीमा बोक्सीको आरोप लगाएर एक एकल महिलामाथि कुटपिट भएको छ । जिल्लाको बलरा नगरपालिका वडा न-१० सुदामाकी ३६ वर्षीया रिता देवी ठाकुरमाथि कुटपिट भएको हो ।

      आइतवार बिहान १० बजे वडा न-१० सुदामा बस्ने भोला भण्डारीका छोरा चुनचुन भण्डारी र भोलाकै अर्का छोरा संजय भण्डारी घरमा आएर आफुलाई गालिगलौज गर्दै निर्घात रुपमा लछारपछार गर्दै कुटपिट गरेको र सो घटनाको बारेमा जानकारी गराइ शान्ति सुरक्षाको लागि इलाका प्रहरी कार्यालय गडहिया डुमरियामा उजुरी गर्दा  बिपक्षीहरुले थाहा पाई पुनः  सोही राती ७ बजे चुनचुन र संजय सोही ठाउँ बस्ने बासदेव भण्डारी र भागरिथ भण्डारीको छोरा राकेश भण्डारीको साथमा मेरो  आँगममा आएर हुलहुज्जत गरि निर्घात रुपमा कुटपिट गरेको पिडित रिता देवीले बताइन।उनीहरुले आफुलाई मलमुत्र समेत खुवाउने प्रयास गर्दा छुट्टाउन आउने छिमेकी र बालबालिकाहरुलाई समेत उनीहरूले  कुटपिट गरेको रिताले रुँदै  बताएकी छिन् ।

     बोक्सीको आरोपमा कुटपिट गरिएकी रिताको प्रादेशिक अस्पताल मलंगवामा उपचार गरिएको छ।उनले कुटपिटमा संलग्न चारैजनालाई बिपक्षी बनाएर मंगलबार बिहान स्थानीय नेता र  छिमेकीहरुको सहयोगमा मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दर्ता गराएकी छिन् । 

   पिडित रिताको श्रीमान मुकेश ठाकुरको केही समय अगाडी मृत्यु भइसकेको छ।१६ वर्षको एक छोरा र ७ वर्षकी एक छोरीकी आमा रिता देवीको छोरा रोजगारीको लागि गाउँबाहिर बस्दै आएको छ भने छोरी उनीसँगै गाउँमै बस्दै आएकी छिन् ।

  आफुमाथि ठुलो अन्याय भएको दुखेसो पोख्दै उनले  दोषीलाई कार्यवाहीको दायरा ल्याएर आफुलाई न्याय दिलाइदिन भन्दै मानवअधिकारकर्मी,पत्रकार,बुद्धिजीवी,राजनितीकर्मी लगायतकाहरु सँग आग्रह गरेकी छिन् ।

No comments:

Post a Comment