Wednesday, August 24, 2022

सर्लाहीमा मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु हुने

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र ७

   निर्वाचन आयोगले आगामी मंसिर ४ प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी–विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । सोको विषयमा जानकारी गराउन जिल्ला निर्वाचन कार्यालय सर्लाहीले बुधबार सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरि  सरोकारवालाहरु सँग अन्तरक्रिया गरेको छ।

     जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी निर्मल पोखरेलले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर आयोगले  निर्धारण गरेको  अद्यावधिक कार्यक्रमको विषयमा जानकारी गराएका थिए।  जिल्लामा आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी–विरोधसमेत)को कार्यक्रम सञ्चालन हुने जि.नि.अधिकृत पोखरेलले जानकारी दिए।

     उक्त प्रक्रियाअन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।  नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था रहेको  छ । 

    जिसस सर्लाहीको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ब्रह्मपुरी गाउँपालिका प्रमुख राम पदारथ साह,चन्द्रनगर गापा प्रमुख राज कुमार महतो, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो।


No comments:

Post a Comment