Saturday, August 27, 2022

जग्गाको कित्ताकाट बन्द हुँदा, मालपोतमा हुने ६० प्रतिशत काम ठप्प/समाजिक रुपमा अंशबण्डा गरेर जग्गाको मालिक बनेपनि सरकारी स्तरमा लालपुर्जा नबन्दा जग्गाको किनबेच गर्न नपाएको जनताको गुनासो

 



मनोज यादव---

सर्लाही,भाद्र ११

    सरकारले नयाँ भूउपयोग निमायली २०७९ जारी गरेपछि विभिन्न प्रयोजनका लागि गरिदै आएको जग्गाको कित्ताकाट ठप्प भएको छ । कित्ता काटको काम ठप्प भएपछि सर्लाही जिल्लाभरका जनताहरु मर्कामा परेको गुनासो गरेका छन् ।

   भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ बमोजिम स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा कृषि र गैरकृषि  छुट्याएर बर्गिकरण नगरेको जग्गाको कित्ताकाट नगर्न भनि  मन्त्रालयले  परिपत्र गरि निर्देशन दिएकोले अहिले मालपोत र नापी कार्यालयमा अन्य कामहरु भएपनि कित्ता काटको काम भने बन्द रहेको भुमि सुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले बताए । जबसम्म कृषि र गैरकृषि क्षेत्र भनेर चारकिल्ला छुट्याइदैन, तबसम्म अंशबण्डाकै कित्ताकाट गर्न पनि समस्या भएको उनलले बताए।

   विगत तीन महिना भन्दा बढी समयदेखि सर्लाही जिल्ला स्थित  जिल्ला मालपोत कार्यालय मलंगवा,इलाका मालपोत कार्यालय बरहथवा र हरिवनमा कित्ताकाट र घरजग्गा किनबेच सम्बन्धित काम सुस्ताएको छ।जग्गाको कित्ताकाट बन्द भएदेखि दैनिक भिडभाड भइरहने सर्लाहीका तीनवटै ठाउँका मालपोत कार्यालयहरुमा अहिले सेवाग्राहीहरुको उपस्थिति कम देखिएका छन् । जग्गाको वर्गिकरण नहुँदा मालपोत कार्यालयबाट हुने कित्ताकाट, लिखत पारित लगायत विभिन्‍न शिर्षकको काम करीव ६० प्रतिशतले घटेको सर्लाही लेखापढी व्यवसायी संघका अध्यक्ष राज किशोर झा ले बताए ।

    भूमि मन्त्रालयले परिपत्र गरि निर्देशन दिएको झण्डै चार महिना पुग्नै लाग्दा पनि सर्लाहीका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा जग्गा बर्गिकरण गर्नतर्फ ध्यान दिएका छैनन्। सबै पालिकाहरुमा नयाँ जनप्रतिनिधिहरु आएका छन् ।  उनीहरु अझै पनि बधाई र सम्मान ग्रहण गर्नमै व्यस्त छन् ।

   दाजुभाइ बिच अंशबण्डा भएको तीन महिना भइसक्यो,घर व्यवहार पनि छुट्टाछुट्टै चलिरहेको छ तर कित्ताकाटको काम बन्द रहेका कारण आफ्नो नाममा लालपुर्जा बनाउन पाएका छैनौं।गाउँकै केही भद्रभलादमीहरुको रोहवरमा तत्कालको लागि कागजमा जग्गाको बाँडफाँड गरेर काम चलाइरहेका छौ-मलंगवा स्थित जिल्ला मालपोत कार्यालयको प्रांगणमा भेटिएका एक सेवाग्राहीले गुनासो सुनाए। उनले सरकारी स्तरमा लालपुर्जा बनाएर जग्गाको स्वामी बन्न नपाएकोले छोरीको विवाहको लागि आवश्यक परेको पैसाको लागि जग्गा समेत बिक्री  गर्न नपाएको दुखेसो पोखे।

    कुनै पनि विधि अपनाएर अथवा कुनै पहुँचवाला व्यक्तिसँग भनसुन गरेरै भएपनि जग्गाको कित्ताकाट भईहाल्छ कि भनेर टाढा टाढाबाट सबै काम घन्दा छाडेर चर्को घाममा मालपोत आउने सेवाग्राहीहरु काम नभइ निराश भएर रित्तो हात फर्कन बाध्य हुनु परेको  छ। काम नभइ रित्तो हात फर्कनु पर्दा आफुहरुको टाउकोमा आर्थिक भार मात्र थोपरिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।सबैभन्दा बढी आर्थिक मार गरिब जनताहरुलाई परेको छ।

     

     



 







No comments:

Post a Comment