Tuesday, August 9, 2022

सर्लाहीको कौडेनामा एकैदिन सामुदायिक अस्पताल र मन्दिरको शिलान्यास सम्पन्न

 



मनोज यादव----

सर्लाही,साउन २४

     नेपाली काँग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय "डिना"ले  सर्लाही जिल्ला अन्तर्गत पर्ने कौडेना गाउँपालिकाको वडा न-२ इनर्वा गाउँमा एकैदिन दुई ठुला आयोजनाहरुको शिलान्यास गर्नुभएको छ।

    उहाँले सोमबार झण्डै ६ करोडको लागतमा बन्न लागेको १५ शैयाको सामुदायिक अस्पताल र झण्डै २ करोडको लागतमा बन्न लागेको विष्णु मन्दिरको शिलान्यास गर्नुभएको छ।

   गम्भीर रोगको उपचारका लागि टाढा जानुपर्ने र टाढा जानुपर्दा बढी आर्थिक भार वहन गर्नुपर्ने समस्यालाई मध्यनजर गर्दै कौडेना गाउँपालिका लगायत आसपास दुर्गम क्षेत्रका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले पुर्व-पश्चिम हुलाकी राजमार्गको छेउमा  सामुदायिक अस्पतालको शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले बताएको छ । आर्थिक रुपमा असक्षम नागरिकहरुलाई  सामान्य उपचारका लागि पनि जिल्लाका महँगा अस्पताल तथा जिल्ला बाहिर जानुपर्ने  बाध्यताका कारण उपचारमा निकै समस्या हुने गरेको थियो । समयमा उपचार नपाएर धेरैको अकालमै मृत्युसमेत हुने गरेको थियो । तर, घर छेउमै सुविधा सम्पन्न अस्पताल निर्माण हुन लागेको देखेर शिलान्यास समारोहमा सहभागी हुन कार्यक्रम स्थलसम्म आएका स्थानीयबासीहरुले खुसी व्यक्त गरेका थिए।

  यसैगरी सह-महामन्त्री उपाध्यायले सोही दिन सोही वडामा उत्खननबाट प्राप्त  भगवान विष्णुको प्राचीन मुर्तिको स्थापनाको लागि निर्माण हुन गइरहेको भब्य मन्दिरको समेत शिलान्यास गर्नु भएको छ।

   उक्त मन्दिर निर्माणको लागि इनर्वा गाउँको मध्यमा रहेको शिव मन्दिर छेउको १२ कठ्ठा जमिनको उपयोग गरिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए।

     काँग्रेस सह-महामन्त्री उपाध्यायको प्रमुख आतिथ्यता तथा वडा न-२ का वडाध्यक्ष राम दरेशको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास समारोहमा पुर्व सांसद जंगीलाल राय, पुर्व सांसद हरेश महतो, पुर्व सांसद शम्भुलाल श्रेष्ठ,नेपाली काँग्रेस जिल्लाकार्य समितिका कार्यवाहक सभापति डा.सरोज यादव,विष्णु गाउँपालिकाका प्रमुख,कबिलासी नगरपालिकाका प्रमुख ,हरिपुर्वा गाउँपालिकाका प्रमुख, कौडेना गापाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव,विभिन्न पालिकाकाका वडाअध्यक्षहरु,नेपाली काँग्रेसका नेताहरु,कौडेना गापाका कर्मचारीहरु,पत्रकारहरु लगायत स्थानीयबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।कार्यक्रमकको संचालन लेखा प्रमुख हरिनारायण साहले गरेका थिए।

No comments:

Post a Comment