Monday, August 8, 2022

६ करोडको लागतमा निर्माण भएको मलंगवाको नयाँ बसपार्क अलपत्र




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २३

    ६ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको मलंगवाको नयाँ बसपार्क संचालन नहुँदा अलपत्र अवस्थामा पुगेको छ।

    संधीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाम मार्फत करिब छ करोड रुपियाँको लागतमा निर्माण भएको सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा रहेको सुविधा सम्पन्न नयाँ बसपार्क संचालनमा नआए पछि अहिले प्रयोग विहीन भएको छ।जबकी यसको निर्माण भएको झण्डै ६ महिना भइसकेको छ।उक्त बसपार्क संचालनमा ल्याउन नगरपालिकाले पनि कुनै चासो देखाएको देखिदैन ।

    टर्मिनल भवनसहित निर्माण गरिएको उक्त बसपार्क संचालनमा नआउँदा बसहरु हाल वडा न-९ स्थित जनसागर बजार(श्रीमती कृष्णादेवी जनता मावि को छेउ)मा रहेको पुरानै बसपार्कमा पार्किङ गरि त्यहीँबाट संचालन भइरहेका छन् ।हाल संचालनमा रहेको उक्त बसपार्क एकदम साँघुरो रहेको छ। गाडीहरुको चाप बढेको अवस्थामा  बसपार्क अगाडीको मुख्य सडकमै गाडीहरु पार्किङ गरेर राखिएका देखिन्छन् ।

     नयाँ बसपार्क मुख्य  बजारभन्दा टाढा  रहेको र त्यहाँ जाँदा साना गाडी वालाहरुले पुरानो बसपार्क अगाडिबाटै यात्रुहरू उठाएर लैजाने चिन्तामा बस व्यवसायीहरु जान तयार नभएको बुझिएको छ।

     उता सर्लाही बस व्यवसायी संघका कार्यबाहक अध्यक्ष धीरेन्द्र साहले भने आफुहरुलाई नयाँ बसपार्कको निर्माण कार्य पूरा भएकोबारे कसैले पनि जानकारी नगराएको बताएको छ।

     बसपार्क निर्माण गर्ने ठेकेदारले आफूहरूलाई बसपार्क हस्तान्तरण गर्न बाँकी नै रहेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताउनुभयो।उहाँले राज्यको लाखौं रुपैयाँ खर्च गरेर बनाइएको  बसपार्क हस्तान्तरण भएर संचालनमा आएपछि बस व्यवसायीले बस लादिन भन्न पाउने छैन बताउनुभयो ।

      बस व्यवसायीलाई राखेर चाँडैनै यस विषयमा छलफल गर्ने तयारी भइरहेको मेयर नागेन्द्र प्रसाद यादवले बताउनुभयो।


No comments:

Post a Comment