Sunday, August 21, 2022

केन्द्र सरकारले मधेश सरकारलाई हेला गरेर थाेरै रकम विनियाेजन गरेकाे कृषिमन्त्री मृगेन्द्र कुमार यादवको आराेप

 




मनोज यादव---

सर्लाही,भाद्र ५   

     संघीय कृषि तथा पशुपंछी विकास मन्त्री मृगेन्द्र कुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा कृषि यन्त्र परिक्षण तथा अनुसंधान केन्द्रको उद्घाटन गरेका छन् ।

   कृषि पेशालाई आधुनिकिकरण गरि व्यवसायीक एवम् प्रतिस्पर्धात्मक बनाउन कृषिमा यान्त्रिकरण गर्न आवश्यक देखिएकोले नेपाल सरकार,नेपाल कृषि अनुसंधान परिषदको ५८ बैठकको निर्णय अनुसार स्थापित नेपाल कृषि अनुसंधान परिषद अन्तर्गत उक्त केन्द्रको मधेश प्रदेश अन्तर्गत सर्लाहीको नवलपुरमा स्थापना गरिएको हो।

    कृषि यान्त्रिकरण प्रवर्द्धन निति २०७१" नेपाल सरकारबाट स्वीकृत भई लागू भइसकेको अवस्थामा कृषि यान्त्रिकरणको व्यवस्थित र उपयोगी प्रयोग गरि उत्पादन बढाई किसानको जिवस्तर सुधार्न र गुणस्तरीय कृषि यन्त्र नेपाली किसानसम्म पुर्याउने उदेश्यले उक्त अनुसंधान केन्द्रको स्थापना गरिएको केन्द्रले बताए ।

     केन्द्रको आइतवार सम्पन्न भएको उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्नुहुँदै कृषिमन्त्री यादवले परम्परागत कृषि  प्रणालीको अवलम्बन गर्दा कृषिजन्य वस्तु आयात गर्नु परेकाे बताउनुभयो । उहाँले परम्परागत खेती प्रणालीलाई आधुनिकिकरण गर्नु पर्ने आवश्यकता रहेकाे बताउनुभयाे । केन्द्र सरकारले मधेश सरकारलाई हेला गरेर थाेरै रकम विनियाेजन गरेकाे आराेप लगाउँदै उहाँले कृषि प्रधान देशमा कृषि क्षेत्रको विकासका लागि २/३ प्रतिशत बजेट मात्र विनियाेजन गर्नु दु:खद भएको बताउनु भयाे ।

    प्रसंग बदल्दै मन्त्री यादवले किसानहरु रासायनिक मलमा आत्मानिर्भर हुँदा उत्पादनमा कमी आएकाे र त्यसलाई व्यावस्थापन गर्न आफ्नाे गाउँ घरमा उत्पादन भएको प्राङ्गारीक मललाइ सकेसम्म बढी प्रयाेग गर्न आग्रह गर्नु भयाे ।उखु किसानहरुकाे विषयमा पनि सरकारले  चासाे लिएकोले चाँडै नै उखु उत्पादक किसानहरुकाे समस्या समाधानका लागि पहल गर्ने बताउनुभयाे ।

     कार्यक्रममा उपस्थित संघीय सांसद प्रमोद साह,राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान,प्रदेश सांसद अशोक यादव, संजय यादव,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायतका अतिथिहरुले आआफ्नो सम्बोधनमा रासायनिक मलकाे अभाव झेल्दै आएका सर्लाहीका किसानहरुको समस्या समाधानको लागि पहल गरिदिन कृषिमन्त्री यादवसँग आग्रह गरेका थिए। 

   उक्त कार्यक्रममा कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष राम दरेश राय,अंजनी कुमार खिडहरी लालबन्दी नगरपालिका प्रमुख बासुदेव अधिकारी लगायत अनुसंधान केन्द्रका कर्मचारी तथा कृषि सँग सम्बन्धित  विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।







No comments:

Post a Comment