Saturday, August 6, 2022

नेपाल समाजवादी पार्टीको अध्यक्षमा यादव र भट्टराई

 



एसपी यादव....

काठमाडौ, साउन २१ गते 

    नेपाल समाजवादि पार्टी (नेसपा) को केन्द्रिय समितिको प्रथम पुर्ण बैठक शनिबार बालकुमारी स्थित रहेको कान्तिपुर गार्डेन्समा सम्पन्न भएको छ । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष निवर्तमान कृषि मन्त्री महेन्द्र राय यादवलाई बनाएको छ । त्यस्तै बैठकले सह-अध्यक्ष (तेस्रो वरीयतामा) गंगानारायण श्रेष्ठलाई बनाएको छ । भने उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिव रमेशप्रसाद यादवलाई बनाएको छ ।

   बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘जसपाले एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्षहरु गर्‍यौँ, बहसहरु पनि गर्‍यौँ । तर हामी त्यही पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न सक्ने अवस्था देखिएन । त्यसपछि हामीले गत असार २८ र २९ गते केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेर रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न गर्‍यौँ । तर उनीहरुले रुपान्तरणको कुनै संकेत देखाएनन् ।’ गम्भीर अवस्था आएपछि हामीले नयाँ पार्टी पुनर्गठन गर्नुपरेको उनले बताएका छन् ।

   अध्यक्ष यादवले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए । जनताका मुद्दाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भीर छलफल गरी पार्टीको कन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने बताए । उनले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वाससमेत व्यक्त गरे ।

    ललितपुरको बालकुमारीमा शनिबार (आज) सुरु भएको पार्टी केन्द्रिय समितिको प्रथम पुर्ण बैठकमा बोल्दै उनले पार्टीको वैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पारे ।

    बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङलाई जिम्मेवारी दिइएको छ ।

   बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय गरेको छ । बैठकले हाल १८९ सदस्यीय केन्द्रीय सदस्य समेत बनाएको छ।




No comments:

Post a Comment