Monday, November 16, 2020

सर्लाही सहित देशभर आज भाइ टीका मनाइदै छ



लोकतन्त्र समाचारदाता----

सर्लाही ,मंसिर १

     यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज  (साेमबार) सर्लाही सहित देशभर भाइटीका मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइँदैछ ।

    यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भाइटीका लगाइदिने पूर्व र लगाइ माग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

    लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएपछि शास्त्रीय मान्यतामा भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।  

     टीका लगाइ दिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिइ सम्मान गर्ने परम्परा छ । 


No comments:

Post a Comment