मनोज यादव-----
सर्लाही ,मंसिर ११
सर्लाहीको सदरमुकाम मलंगवाबाट नेपाल–भारत सीमावर्ती सोनवर्षा बजार मात्र ३ किलोमिटरको दुरीमा छ।
तर घर परिवारलाई आवश्यक पर्ने लुगाफाटो, औषधि, खाद्यान्नदेखि कृषि सामग्रीलगायत जुटाउन मलंगवाबासीलाई सोनवर्षा बजारनै धाउँनु पर्छ । किनमेलका लागि सीमापारिकै बजार धाउनुको मुख्य कारण हो– महँगीबाट जोगिनु । तर लामो समयदेखिको सीमा बन्दले किनमेलका लागि पारि जान सकेका छैनन् ।नाकामा गस्ती गरिरहेका सुरक्षाकर्मीबाट लुकिछिपी चोरबाटो भएर पारी जानुपर्ने बाध्यता रहेको छ यहाँका स्थानीय बासिन्दाहरुलाई ।
‘नुनदेखि सुनसम्मका सामान किन्न पारि सस्तो पर्ने भएकाले उतै जान्छौं ,’मलंगवा नपा वडा न-२ की मुक्ता यादवले भनिन् । ‘उता ८ रुपैयाँ भारुमा पाइने १ केजी नुनको यता (नेपाल) २५ रुपैयाँ पर्छ । त्यसैले हामी पारिकै बजारमा निर्भर छौं ।’उनले भने ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि दुवै तर्फका सरकारले चैतको दोस्रो साताबाट अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गराएका थिए । आठ महिनासम्म सीमा बन्द हुँदा दैनिक उपभोग्य वस्तु खरिदका लागि सीमावर्ती भारतीय बजारमा निर्भर बासिन्दा मारमा परेका छन् । लुकीछिपी सीमा पार गरे पनि फर्किंदा दुवैतर्फका सुरक्षाकर्मीले हप्काउने र खर्च माग्ने गरेको स्थानीयको गुनासो छ ।‘यदि कसैगरि लुकीछिपी चोर वा गोरेटो बाटो भएर पारिबाट सामान किनेर वारि फर्कियौं भने पनि दशगजामा तैनाथ दुवैतर्फका सुरक्षाकर्मीबाट गाली खानु पर्छ । त्यति मात्र नभइ, सामान ल्याएबापत उनीहरूलाई ५० -१०० रुपैयाँ बुझाउनु पर्छ ,मलंगवा नपा ४ का राजेश चौधरीले भने ।
सीमा बन्दा हुँदा महँगीको मारमा परेको गुनासो सुनाउनेहरु सर्लाहीको सबैजसो सीमावर्ती क्षेत्रमा भेटिन्छन् । कविलासी नगरपालिका सलेमपुरका ४१ वर्षीय ठगा साह छठका लागि आवश्यक सबै सामान सोनवर्षा बजारबाटै ल्याउँथे । यसपालि मलंगवा र गाउँकै स्थानीय बजारबाट परिवारका लागि लुगा र पूजा सामग्री किन्दा यसपालिको छठ निकै महँगो परेको सुनाए । ‘छठमा १० हजार रुपैयाँमा किनमेल भ्याइने अनुमान थियो तर १५ हजारभन्दा बढी खर्च भयो,’ उनले भने, ‘सीमामा समस्या नभएको भए हामीजस्तो निम्न परिवारका किसानलाई आर्थिक भार कम पर्थ्यो । ठूला व्यापारीलाई भने समस्या छैन तर दिनहुँ प्रयोगमा आउने घरायसी सामान ल्याउन हामीलाई समस्या छ ।’
लामो समयदेखि सीमा बन्दका कारण दुवै देशका समुदाय बीचको आर्थिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, धार्मिक र वैवाहिक सम्बन्ध विस्तारै टुटिरहेको थर्ड एलायन्स सर्लाहीका मानव अधिकारकर्मी मुकेश मिश्रले बताए । दुई देश बीच वैवाहिक सम्बन्ध रहेकाले रोटीबेटीको सम्बन्ध छ,’ उनले भने । दशगजाले देशको सीमा विभाजन गरेको भए पनि पारिका धेरैजसो स्थानीयको घरगोठ र खेतीयोग्य जमिन वारि छ भने वारीको भारतमा छ ।
No comments:
Post a Comment