Thursday, November 12, 2020

ट्राफिक व्यवस्थापन गर्दै मलंगवाका ट्राफिक प्रहरी






मनोज यादव----

सर्लाही ,कात्तिक २७

    ट्राफिक प्रहरी कार्यालयले मलंगवा नगरपालिकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा नगर भित्रका सडकको फुटपाथ र  सडक अतिक्रमण गरेर पसल संचालन गरेको ठेला तथा टहराहरु हटाउन सुरु गरेको छ।

     ट्राफिक प्रहरी कार्यालय मलंगवाले नगर भित्रका सडकहरु अतिक्रमण गरेर संचालन भएका फुटपाथे पसल,कठघरा , टहरा र  जथाभावी रुपमा राखिएका  ठेलाहरुका कारण नगर अव्यवस्थित र सडकहरु सँघुरो भएकाले    ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना´ अन्तर्गत  जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउन लगेको ट्राफिक प्रहरी कार्यालय मलंगवाका इन्चार्ज कुमार प्रसाद मैनालीले बताउनुभयो ।

    मलंगवा ट्राफिकले  विभिन्न निकायको सहकार्यमा मलंगवा नगर क्षेत्रको शिवसागर चौकदेखि जिविस चौक,बसपार्क (जनसागर बजार),बालमन्दिर चौक, जिल्ला अस्पताल, नगरपालिका चौक , मालपोत कार्यालय र विधुत प्राधिकरण कार्यालयसम्मका अतिक्रमण गरि संचालन भइरहेका फुटपाथ पसल तथा पार्किङ हटाउन लागेको हो। 

   ट्राफिक प्रहरी मलंगवाका इन्चार्ज मैनालीले नगरको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही कात्तिक २७  गतेदेखि नै उक्त अभियान संचालन गरिएको जानकारी दिए। यसलाई तीन चरणमा विभाजन गरेर  आज(बिहिवार)पहिलो चरणमा त्यस्ता पसलका संचालकहरुलाई सम्झाइ बुझाइ गरिएको छ ।दोस्रो चरणमा पसल कुनै नश्चित् ठाउँमा राख्न सुझाव दिने र अन्तिम अर्थात् तेस्रो चरणमा अटेरी गरेर बसेकाहरुलाई नियमानुसार कार्यवाही गर्ने मैनालीले बताए ।

   सडकको अतिक्रमण हटाएसँगै ट्राफिक व्यवस्थापनमा सुधार आउने उनले बताए। 'सडक र सडकका किनारामा जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुने गरेको छ, सडक फुटपाथ अतिक्रमण हटेसँगै जाम घट्ने विश्वास हामीले लिएका छौँ,' मैनालीले भने।


No comments:

Post a Comment