Thursday, November 26, 2020

कोरोना महामारीमा वैदेशिक रोजगारीबाट घर फर्किएकाहरु जिविका चलाउन स्वदेशमै रोजगार सुरु गर्दै ।

 




लोकतन्त्र समाचारदाता-----

सर्लाही ,मंसिर ११

    कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा फर्किन नपाएकाहरु आफ्नै गाउँ ठाउँमा ब्यापार व्यवसाय सुरु गरेका छन् । कोरोनाका कारण विदेशमा रहेका कामदारहरु स्वदेश फर्किएपछि बेरोजगार बस्नु भन्दा सानोतिनो व्यापार गरेर रोजगारीको प्रयास गरिरहेका छन् ।

    गएको वर्ष विदामा आएका तर लकडाउनका कारण फर्किन नपाएका सर्लाहीका  अधिकांश कामदारहरु अहिले कुनै न कुनै व्यवसाय सुरु गरेर रोजगारमा लागिसकेका छन् ।विदेशमा कमाएर ल्याएको पैसा घर बस्दा सकिन थालेपछि घर परिवारको सल्लाहमा आफ्नै व्यापार सुरु गरेको कविलासी नगरपालिका वडा न–७ गैर बजारका ३१ वर्षीय गौरीशंकर साहले बताए । उनले ३० लाखको लगानीमा गैर बजारमा फर्निचर र हार्डवेयर पसल खोलेका छन् । कोरोना महामारी नभएको भए  आफु अहिले  वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतारमा हुन्थे,साहले सुनाए ।‘अर्काको काममा गरेको मेहनत  भन्दा आफ्नै व्यापारको लागि गरेको मेहनतमा  धेरै सन्तुष्टि छ, साहले बताए ।उनी १६ वर्षको उमेरमा  वैदेशिक रोजगारीको शिलसिलामा कतार गएका  थिए ।

      साह मात्र होइन सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–५ भाँडसरका   मो. गुलाम तलहा पनि बैदेशिक रोजगारीबाट फर्किएर आफ्नै व्यवसाय सुरु गरेका छन् ।यस भन्दा अगाडि उनी साउदी अरबमा मासिक ८० हजार कमाउँथे । घर फर्किएपछि उनले मलंगवाको बालमन्दिर चौकमा कफी हाउस खोलेका छन् ।अहिले घरजमको तयारीमा रहेका २९ वर्षिय तलहा `आफ्नै जन्मभूमिमा स्वरोजगार गर्नुको आनन्द विदेशमा छैन ।’सुनाए । मलंगवा नपा वडा न-८ र ९ स्थित मुख्य बजार क्षेत्रमा  मात्रै १ दर्जन भन्दा बढी  पसल बैदेशिक रोजगारीबाट फर्किएकाहरुले खोलेका छन् ।  एक वर्षयता खुलेका यी पसलका लगानीकर्ता वैदेशिक रोजगारीबाट फर्किएकाहरू नै छन् ।

    कफी हाउस अगाडि रेडिमेड कपडा पसल खोलेका  गुलामकै भिनाजु अनवारुल हकले ‘त्यता कमाएर बचत गरेको र केही सरसापट लिएर व्यवसाय थालेको हुँ,’  भने, ‘सरकारले वैदेशिक रोजगारबाट फर्किएकालाई मुलुकमै रोक्न, रोजगारी दिन नसक्दा पीडाबोध भएको छ ।’ समाचारमा विभिन्न खाले नीतिहरू आएको सुनिए पनि व्यवहारमा कुनै सरकारी लाभ आफूहरूले पाउन नसकेको उनले गुनासो गरे ।

     मलंगवा बजारमा पछिल्लो एक वर्षमा उल्लेख्य संख्यामा पसल, व्यवसाय विस्तार भएको देखिन्छ । मूल बाटोमा ठाउँ नपाएपछि भित्री गल्लीमा पनि सानाठूला पसल खुलेका छन् । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ईश्वर गुप्ता मलंगवा मात्रै होइन, जिल्लाभित्रका सबैजसो बजारमा विदेशबाट आएको पैसा भित्रिएको बताउँछन् । 

     लकडाउनअघि दैनिक ६–७ जनाको संख्यामा वैदेशिक रोजगारीका लागि जाने गरेको जनाउँदै वाग्मतीका प्रोग्राम म्यानेजर दिवाकर झाले पछिल्लो समय बन्दका कारण त्यो संख्या शून्य रहेको बताए ।

    पैसा हुने र व्यवसायको अनुभव सँगालेकाले व्यपारमा हात हालेर आफूलाई टिकाउने प्रयत्न गरिरहेका छन् । तर, बाहिर जान नपाएका र आफ्नो ठाउँमा काम नपाएकाहरू असाध्यै पीडामा पनि छन् । अर्कोतिर, कोरोना कहरमा जागिर छाडेर फर्किनेहरूको पीडा देखेका परिवारले उता जान रोकेपछि स्वदेशमा रोजगारी नहुँदा समस्या भोगिरहेका छन् ।

     सरकारले जेठ १५ मा ल्याएको बजेटमा श्रम र रोजगारीलाई प्राथमिकता दिएको बताएको थियो ।  कोरोनाका कारण विदेशमा रहेका कामदार स्वदेश फर्किएपछि रोजगारीको अवसर दिने उल्लेख थियो ।विदेशबाट फर्किएका ५० हजार व्यक्तिले रोजगारी पाउने र त्यसका लागि १ अर्ब बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ । तर, ती सब कागजमा मात्रै सीमित हुँदा हजारौं  युवा युवतीहरु पीडामा छन् । 

    प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि खाद्यान्न, सीपमूलक तालिम, रोजगार सेवा केन्द्र, श्रम बैंकको लाभ वास्तविक पीडितहरूले पाउने ठेगान नभए पछि  हजारौं युवाहरु पुनः बिदेसिने सुरसार गर्न थालिसकेका छन् । 




No comments:

Post a Comment