Monday, November 23, 2020

सर्लाहीको कौडेना,बरहथवा र ईश्वरपुरमा मोटरसाइकल दुर्घटना , ६ जना घाईते


  



सर्लाही ,मंसिर ८

सर्लाहीको कौडेना गाउँपालिका तथा बरहथवा र ईश्वरपुर नगरपालिकामा आइतवार भएको  मोटरसाइकल दुर्घटनामा परि ६ जना ब्यक्ति घाइते भएका  छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार कौडेना गाउँपालिकाको वडा नम्बर - ४ मोतिपुरमा बा १७ प ५२४२ नम्वरको मोटरसाइकलको ठक्कर बाट पैदल यात्री सोही ठाउँका ४५ वर्षीय रामेश्वर साह घाईते भएका छन् । घाईते साहको जिल्ला अस्पताल मलंगवामा प्राथमिक  उपचार गरि थप उपचारको लागि बिरगंज पठाइएको छ ।

   यस्तै बरहथवा नगरपालिका वडा नम्बर - ८ स्थित टाँडीमा हीरापुरबाट बरहथवातर्फ आइरहेको बा ५९ प ४३१९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका  स्थानीय पैदल यात्री ४५ वर्षीय किरण मल्लीलाई ठक्कर दिएको छ ।मोटरसाइकलको ठक्करबाट पैदल यात्री मल्ली  र मोटरसाइकल चालक बरहथवा नगरपालिका वडा नम्बर - १३ बसबरिया बस्ने ४२ वर्षीय रामनारायण राम घाईते भएका छन् । दुवै जनाको बरहथवामा उपचार चलिरहेको प्रहरीले जनाएको  छ ।

    यसैगरी ईश्वरपुर नगरपालिका वडा नम्बर - ६ क्याम्पस चौक स्थित भित्री सडक खण्डमा  फुलजोरबाट बयलवासतर्फ जाँदै गरेको ना ४९ प ३७२८ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको  ज ६ प १८६६ नम्वरको मोटरसाइकल  एकआपसमा ठोक्किँदा ३ जना घाईते भएका छन् । उक्त दुर्घटनामा ज ६ प १८६६ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका वडा न- ५ बस्ने  २१ वर्षीय राजेश कुमार महतो, ना ४९ प ३७२८ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँका २१ वर्षीय प्रसिद्ध आले मगर र सोही मोटरसाइकल पछाडि सवार २४ वर्षीय सन्जिव राना मगर घाईते भएका छन् ।

     घाईते तीन जनामध्ये महतोको बयलवासमा उपचार चलिरहेको छ भने मगर द्वयलाई थप उपचारका लागि काठमाण्डौं लगिएको  प्रहरीले जनाएको छ ।

    हिजो आज सर्लाहीमा खराब सडक र मदिरा सेवन तथा लागुऔषध सेवन गरेर तिब्र गतिमा सवारीसाधन चलाउँदा दैनिकजसो दर्जनौ सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय मलंगवाका इन्चार्ज (प्रमुख )कुमार प्रसाद मैनालीले बताए ।


No comments:

Post a Comment