Tuesday, November 16, 2021

पेट्रोलियम पदार्थको मुल्य वृद्धिलाई लिएर विपल्व समुहले गरेको नेपाल बन्दको प्रभाव सर्लाहीमा परेन

 

---सार्वजनिक यातायात नचलेपनि बजार तथा पसलहरु खुल्ला---


मनोज यादव---

सर्लाही,कात्तिक ३०

    नेत्र विक्रम चन्द"विपल्व" नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज(मंगलबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव सर्लाहीमा सामान्य  परेको छ ।अघिल्ला दिनका तुलनामा पुर्व पश्चिम राजमार्गमा  सार्वजनिक सवारीसाधनहरु कम सञ्चालन भएका कारण सर्वसाधारण यात्रुहरुमा कठिनाइ भएको देखिएको छ ।बजार तथा पसलहरु खुलेकाले व्यापार व्यावसायमा  बन्दको  प्रभाव परेको देखिएको छैन।

      सर्लाहीको सदरमुकाम मलंगवा बाट संचालन हुने लामो दुरीको यातायात संचालन नभए पनि छोटो दुरीका टेम्पु,म्याजिक ई.रिक्सा लगायतका साना यातायातका साधन भने चलेका छन् । बिरगंज ,जनकपुर लगायतका शहरका लागि छुट्ने लामो दुरीका यातायात(बस)हरु नचलेकाले मलंगवा स्थित बसपार्कमा यात्रुहरु सामानसहित बिचल्लीमा परेको देखिएका छन् । 

    यसैबीच देशका विभिन्न ठाउँबाट  जबरजस्ती सवारीसाधन  बन्द गराउन खोज्ने ८६ जना बन्दकर्ताहरुलाई सुरक्षाकर्मीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयले जानकारी दिएको छ। निजी र सरकारी सवारीसाधनहरुको संचालनमा कुनै प्रभाव देखिएको छैन ।मोटरसाइकलहरु निर्धक्कका साथ चलेका छन् ।

      महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कात्तिक २५ गते बिहिबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गरेर विरोधका विभिन्न कार्यक्रम लगायत ३० गते मंगलबार नेपाल  बन्दको आह्वान गरेको हो ।  

    उक्त समुहले सरकारलाई  मूल्य वृद्धि फिर्ता नलिए आम जनताको साथ लिएर प्रतिरोधमा उत्रन बाध्य हुने चेतावनी दिंदै विभिन्न विरोधका कार्यक्रमहरु गर्ने विज्ञप्ति मार्फत जानकारी गराएका छन् । देशव्यापी आन्दोलनका कार्यक्रममा २५ गते देशव्यापी विरोध , २६ गते मशाल जुलुस , २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन , २८ गते बिहान १० बजेदेखि  ११ बजेसम्म चक्काजाम , २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकालेका छन् । 

   अन्तर्राष्ट्रिय बजारबाट ४७ रुपैयाँ खरिद गरेर सरकारले नागरिकलाई १३६ रुपैयाँमा बिक्री गरेको, तैपनि आयल निगम घाटामा रहेको झुठा विवरण दिएर जनतामाथि शोसण गरेको धारणा महासविच विप्लवले सार्वजनिक गरेका छन् ।सरकार माफियाहरुको इसारामा चलेको भन्दै सरकारलाई भरपूर कर तिरेर पनि पेट्रोल ७० रुपैयाँ प्रतिलिटर बिक्री गर्न सकिने अवस्था रहेको स्पष्ट पार्दै हाल बढाएको मूल्यले यातायात लगायत अत्यावश्यक वस्तुमा चरम रुपमा भाउ बढेर सवसाधारणको दैनिकी नै चौपट हुने र यसलाई रोक्न वृद्धि मूल्य वृद्धि खारेजीका लागि सडकमा उत्रन सबैसँग अपिल गरेका छन् ।

   सरकारले बिहिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्य बढाएको छ ।

No comments:

Post a Comment