Wednesday, November 24, 2021

सर्लाही कांग्रेसकाे विवाद सुल्झियो, नयाँ निर्वाचन अधिकृतको रुपमा भरत राउत

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ८

   नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा चार दिनसम्म चलेको वार्तापछि नेपाली कांग्रेस सर्लाहीको  जिल्ला अधिवेशन सम्बन्धि विवाद मिलेको छ।केन्द्रले जिल्लाका दुबै   समूहलाई सहमतिमा ल्याएपछि विवाद मिलेको  हो ।

    केन्द्रले सर्लाहीमा कांग्रेसको अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृतको रुपमा भरत राउतलाई खटाएको पार्टीले जनाएको  छ। राउत यसअघि जिल्लामा ६ निर्वाचन क्षेत्रबाट चार वटा निर्वाचन क्षेत्र कायम गर्दा कांग्रेस नेताहरुको समायोजनका लागि सर्लाही आएका थिए ।

   सर्लाहीमा मुख्यगरी वडा स्तरमा खटिने मतदान अधिकृतको विषयमा विवाद भएकाले कांग्रेसको अधिवेशन नै शुरु हुन सकेको थिएन । अहिले भने केन्द्रीय निर्वाचन समिति आफैले क्षेत्र नं १ का लाई क्षेत्र नं ३ तथा क्षेत्र नं ३ का लाई क्षेत्र नम्बर १, क्षेत्र नं २ का लाई क्षेत्र नंं ४ र क्षेत्र नं ४ का लाई क्षेत्र नं २ मा खटाएको छ ।

   कुन मतदान अधिकृतलाई कुन वडा पर्र्यो भन्नेबारे अहिले गोप्य नै राखिएको छ । वडा स्तरमा मतदान गराउन कांग्रेस निकटकै शिक्षकहरुलाई मतदान अधिकृतको रुपमा खटाइने छ ।निर्वाचन समितिले मतदान अधिकृत खटाएसँगै अब कांग्रेसको वडा अधिवेशन मंसिर ९ वा १० गते हुने जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिनुभयाे । नयाँ निर्वाचन अधिकृत राउत  मतदान अधिकृतहरुलाई आवश्यक प्रशिक्षण र कागजात दिनासाथ अधिवेशन प्रक्रिया अघि बढ्ने छ ।

   यसअघि जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीचको विवादले अधिवेशन गराउने वातावरण नभएको भन्दै दुई पटक खटाइएका निर्वाचन अधिकृतले राजीनामा दिएर फर्किएका थिए । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत दीवाकरराज पाण्डेमाथि सदरमुकाम मलंगवामा कांग्रेसको एक समूहले हातपात नै गरेको थियो ।

No comments:

Post a Comment