Wednesday, November 17, 2021

अव्यवस्थित पार्किङले कुरुप बन्दै गरेको मलंगवा बजार दुर्घटनाको उच्च जोखिममा

 



मनोज यादव---

सर्लाही ,मंसिर १

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकास्थित बजार क्षेत्रमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ ।

     बजार क्षेत्रमा रहेका विभिन्न गल्ली तथा मुख्य सडकहरुमा अवस्थित विभिन्न बैंक  संघसंस्था तथा कार्यालयमा कामका लागि आउने सेवाग्राहीहरुले सम्बन्धित कार्यालयको अगाडी नै सडकको दुवै तर्फ  पैदल यात्रुहरुलाई समेत आवतजावतमा कठिनाइ हुने गरि जथाभावी रुपमा चारचक्के तथा दुईचक्के सवारीसाधनहरु पार्किङ गरेेर राखिदिने गरेकाले नगरको स्वरुप कुरुप बनेको हो । दैनिक रुपमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार मलंगवा बजार दिन प्रतिदिन अस्थव्यस्थ बन्दै गएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।

    मलंगवा नगरपालिकाको कार्यालय देखि बालमन्दिर चौकसम्मको मुख्य सडकमा करिब १ दर्जन जति बैंकललगायतका विभिन्न संघसंस्थाका कार्यालयहरु रहेका छन् ।ती सबै कार्यालयहरुको आफ्नै पार्किङ स्थल छैन ।उक्त कार्यालयमा आउने सेवाग्राहीहरु सडकमै आआफ्नो सवारीसाधन पार्किङ गरेर जाने गरेकोले ट्राफिक प्रहरी तथा डिउटीमा खटिएका सुरक्षाकर्मीलाई समेत सडकको भिड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । यस्तै समस्या कृष्णामति स्कुलदेखि बसपार्क सम्मको सडकमा पनि छ । 

      नगरपालिकाले  पार्किङको लागि छुट्टै ठाउँ उपलब्ध नगराउनु र सेवाग्राहीहरुको बढी भिड तथा आवतजावत भइरहने बैंक, संघसंस्था तथा कार्यालयहरुको आफ्नो छुट्टै पार्किङ गर्ने ठाउँ नभएकोले बजार क्षेत्र अस्तव्यस्त  देखिन्छ । बढ्दो शहरीकरणले बजार क्षेत्रमा जथाभावी पार्किङ हुँदा बजार अस्तव्यस्थ भएको जानकारहरुको बुझाई छ ।

“मलंगवा बजार क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संस्था धेरै खुलेका छन्, जसले गर्दा कार्यालय धाउने सेवाग्राहीले आफ्नो सवारी साधन सडकमै अलपत्र छोडेको हुन्छन् ।” स्थानीय  व्यापारी श्यामबाबु यादवले भने, “सडकमा राखेका सवारी साधनले गर्दा आवतजावत गर्ने नागरिकलाई धेरै गाह्रो हुन्छ, दुवैतिर सडक विनाकारण अस्थव्यस्थ भइरहेको हुन्छ, सवारी साधनको चाप धेरै नभएपनि जाममा बस्नुपर्ने बाध्यता रहेको छ, ।” धेरै जसो बैंक तथा वित्तीय संस्थाकै कारण गर्दा पनि समय समयमा सडक अवरुद्ध हुने र सडक अस्थव्यस्थ हुने गरेको उनले बताए ।

   पछिल्लो समय बजार क्षेत्रमा फुटपाथे पसलहरु खुल्ने क्रम बढेको छ ।त्यस्ता पसलहरुले गर्दापनि बजार क्षेत्र  अव्यवस्थित भएको छ ।सडक किनारमा ठेलामा खोलिएका नास्ता पसल, तरकारी , फलफुल, कपडा,जुत्ताचप्पल लगायतका पसलहरु निस्किएका फोहरले  गर्दा बजार दुर्गन्धित समेत हुँदै गएको छ ।

      अर्का एक मलंगवा बजारका चित्रगुप्त पत्रपत्रिका पसलका संचालक बसन्त कर्णका अनुसार बजार क्षेत्रको अव्यवस्थित पार्किङका कारण  दुर्घटनाको  जोखिमसमेत बढेको छ। उनले साधुँरो सडकमा मनलाग्दी तरिकाले गरिएका पार्किङका कारण सबैभन्दा बढी दुर्घटनाको जोखिममा दैनिक रुपमा  घरबाट विद्यालय र विद्यालयबाट घर आउनेजाने साना बालबालिकाहरु पर्ने गरेको बताए । 

No comments:

Post a Comment