Monday, November 29, 2021

सर्लाहीको गडहिया डुमरियामा झडप, ५ जना घाइते

 

 ---गम्भीर घाइते मतदान अधिकृत र एकजना प्रहरी भर्खरै बिरगंज रेफर---


लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर १३

    नेपाली कांग्रेसको १४ औं अधिवेशनको क्रममा आज सर्लाहीको बलरा नगरपालिका वडा न-८ स्थित गडहिया डुमरियामा भइरहेको वडा अधिवेशनमा पार्टीका दुई समूह बीच झडप भएको छ।आज दिउँसो भएको उक्त झडपमा मतदान अधिकृत र तीनजना प्रहरीसहित ४ जना घाइते भएका छन्।

   कांग्रेसकै एक समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेश चन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको जनाइएको छ।

   वडा अधिवेशनमा  डिउटीमा खटिएका प्रहरीले मतदान अधिकृत झालाई उद्धार गरेर प्रहरी कार्यालयमा लान खोज्दा कांग्रेस कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए। झडपलाई नियन्त्रणमा लिनका प्रहरीले केही थान अश्रुग्याँस समेत प्रहार गरेको स्थानीयले बताएका छन् ।

    ढुङ्गामुढा हुँदा  मतदान अधिकृत झासहित प्रहरी निरीक्षक सुरेश ठाकुर, एक प्रहरी हवल्दार, अर्का एक प्रहरी र एक जना नागरिक घाइते भएका छन्। अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै नाम खुल्न बाँकी रहेका हवल्दारको कन्चटमा चोट लागेको छ। अन्यलाई समान्य चोट लागेको प्रहरीले जनाएको छ। 

    गम्भीर घाइते मतदान अधिकृत झा र नेपाल प्रहरीका सई अरूण कुमार यादवलाई भर्खरै केही बेर अगाडी जिल्ला अस्पताल मलंगवाबाट थप उपचारका लागि बिरगंज लगिएको छ।सामान्य घाइतेहरुको सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ। 

    हिजो (आइतबार) साँझ पनि सोही नगरपालिकाको वडा नं. ९ मा कांग्रेसकै दुई पक्षबीच झडप हुँदा गोली चलेको थियो। 

   अहिले उक्त क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



No comments:

Post a Comment