मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतिक मानिने सामा चकेवा पर्व सुरु ,के छ त मनाउने विधी
मनोज यादव---
सर्लाही , कार्तिक २८
मिथिलाको संस्कृति झल्काउने दिपावली र छठ पछिको दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व सुरु भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ।
दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व १० दिनसम्म चल्ने छ । ११औं दिन पूर्णिमाको रात सामा चकेवालाई जलाशयमा विसर्जन गरी पर्वको विधिवत समापन गरिन्छ । मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै लगातार १० दिनसम्म सामा चकेवा खेल्नेछन् । पर्वको पहिलो दिन बिहान दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउँछन ।
माटोबाट तयार पारिएका सामा चकेवा लगायतका आकृति बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङहरु लगाएर रङ्गीचङ्गी बनाइन्छ । त्यसपछि सबेै आकृतिलाई राति बाँसको डालामा राखेर बीचमा दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन् ।
दिदीबहिनीहरु सामुहिक रुपमा दश दिनसम्म सामा चकेवाको गीत गाएर गीत मार्फत आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । त्यसपछि ११औं दिन दाजुभाइको हातबाट सामा फुटाउन लगाइ फार भर्ने गरिन्छ । दाजुभाइको हातबाट फुटाउन लगाएको सामा चकेवा दिदीबहिनीहरु राति बाजागाजाका साथ जलाशय, वन अथवा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । यसरी सामा चकेवाको विधिवत समापन हुन्छ । मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ ।
स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा (सामा) र चकेवा पति–पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए ।
भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमै गएर पर्व मनाउने इच्छा गर्ने भएकाले टाढा–टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्न माइत जाने गर्दछन्।
मध्य तराईको सर्लाही जिल्लासहित महोत्तरी, धनुषा, रौतहट , सिरहा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा पनि यो पर्व लोकप्रिय रहेको छ । मिथिलाञ्चलमा छठपर्वको खरनाको दिनदेखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यो पर्वका लागि पनि दिदीबहिनीले तयारी गर्ने गर्दछन् ।
पछिल्लो समय हाम्रो समाज आधुनिकता तर्फ बढी रहेकोले गाउँ गाउँबाट सामा चकेवा खेल्ने चलन विस्तारै हराउँदै गइरहेको छ । मिथिलाको पहिचान तथा संस्कृति झल्काउने यस पर्वको जगेडना गर्नु नितान्त आवश्यक रहेको समाजसेवी संझा यादव बताउँछन ।
No comments:
Post a Comment