Thursday, April 28, 2022

५ वर्षमा पनि मलंगवाको अवस्था कुनै प्रकारले नफेरिएको आम जनताको आरोप

 लोकतन्त्र समाचारदाता---

सर्लाही बैशाख १५


 


मलंगवाबाट कामको सिलसिलामा बाहिर गएकाहरु वा लामो समय पछि मलंगवा फर्किएकाहरुले मलंगवाको भौतिक पूर्वाधारमा खासै फरक भएको भेट्टाउदैनन् । ५ वर्ष अघिको मलंगवा र जनप्रतिनिधि निर्वाचित भए पश्चातको अहिलेको मलंगवा जस्ताको त्यस्तै छ, झन मलंगवा बजारको अवस्था पहिलाको भन्दा पनि खराब भएको जनताले गुनासो गरेका छन्। 

    पहिलो स्थानिय तहको निर्वाचन पछि मलंगवामा निरसल साह मेयर बनेका थिए । मधेश आन्दोलनको रापकै बेला भएको चुनावमा मधेशवादी पार्टीका तर्फबाट अधिकांश उम्मेदवारले जित पक्का गरेपनि सदरमुकाम मलंगवाबाट नेपाली कांग्रेसका मेयर निरसल साह बिजयी भएका थिए   । तर वडा स्तरमै पुगेको स्थानिय सरकारले संतोषजनक काम गर्न नसके पछि मलंगवाका स्थानियहरुले यसपटक परिवर्तन खोजिरहेको संकेतहरु देखिन थालेका छन । मेयर पदमा निर्वाचित भए पश्चात आफैले घोषणापत्रमा उल्लेख गरेका काम समेत साहले गर्न सकेनन ।  कोरोना संक्रमण उच्च भएर संक्रमितको ज्यान जादा समेत मलंगवामा रहेको प्रादेशिक अस्पतालका उपकरणहरु संचालनमा ल्याउन मेयर साह असफल भए । अत्याधुनिक भेन्टीलेटर र आइसियू सहितको उपकरण चलाउन सक्ने जनशक्ति नहुदा संक्रमितहरुले मलंगवा अस्पतालमा उपचार हुन नसकेर बिरगंज र जनकपुर रेफर मात्र गर्न काम भयो । शिक्षा र स्वास्थ्यको जिम्मेवारी नगरपालिका अन्तर्गत रहँदा समेत क्वारेन्टीन बाहेकका अन्य काम मेयर साहले गर्न सकेनन । सरकारले शिक्षाको पहुच सबैमा पुगोस भन्ने उदेश्यका साथ सामुदायीक विद्यालयमा माध्यमिक सम्मको शिक्षालाई निशुल्क बनाए पनि सर्लाहीको मलंगवामा रहेको कयौ सरकारी विद्यालयले अवैध रुपमा विद्यार्थी बाट शुल्क उठाएको आरोपमा विद्यार्थी संगठनले पटक पटक आन्दोलन गर्दा पनि नगरपालिकाले त्यसतर्फ ध्यान दिएन । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तह सम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरे पनि सदरमुकाम मलंगवामा रहेको सरकारी विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने काम गरि रहयो र यसै बिचमा सस्तो लोकप्रियताका लागी निशुल्क शिक्षा घोषणा कार्यक्रम भन्दै पटक–पटक मेयर साहले वृहत  कार्यक्रम समेत गरे पनि त्यस्को कुनै असर परेको देखिएन । नगरपालिकाले शुल्क नलिन भनेर लेखेको पत्रलाई सरकारी बिधालयहरुले लत्याए पनि मेयर साह मुखदर्शक भएर बसेको विद्यार्थीहरुको आरोप छ ।

   मलंगवाको जिविस चोक देखि राजश्री सिनेमा हल सम्मको बाटो निर्माण गर्न मेयर साह असफल भए । मलंगवाको मुख्य सडकको टेण्डर भएको सडकलाई  नगरपालिकाले बनाउन नसकदा मलंगवावासी अक्रान्त र समस्या भोग्न बाध्य भए ।  साहको कार्यकालमा समुचित ढल निकासको व्यवस्था हुन नसक्दा सर्लाहीको सदरमुकाम मलंगवाका अधिकांश सडकहरुमा पानी जम्ने समस्या अथावत नै रहयो । मलंगवा नगरपालिकाको कार्यालय हुदै अलग अलग वडामा बस्तीका दर्जनौं सडक वर्षाका बेला महिनौं सम्म डुबान भइरहदा पनि जनप्रतिनिधिहरुले कुनै वास्ता गरेनन । दर्जनौ सरसफाई कर्मचारी भर्ना गरेको नगरपालिकाले नियमित ढल सफाई नगराउदा पानी जम्ने समस्याले नगरवासीले सास्ती खेप्नु पर्यो । पाँच वर्षको कार्यकालमा सर्लाहीको सबैभन्दा जेठो नगरपालिकामा पूर्वाधार विकासका कामहरु हुन सकेन ।

   खेलाडीहरुका लागी समुचित खेलमैदान जस्तै मेयर साहकै वडामा रहेको कवडहलको विकास अलि पनि भएन कवडहल मलंगवा मधेश प्रदेशकै ठुलो खेल मैदानमा गणना भएपनि यस खेलमैदानको बिकासको लागि नगरपालिकाबाट कुनै प्रकारको पहल नभएको स्थानीयहरु बताउँछन । बालबालिकाका लागी पार्क तथा शान्त वातावरण भएका उद्यानहरुको निर्माण हुन सकेन । जनप्रतिनिधि निर्वाचित भएको एक कार्यकाल बितिसक्दा पनि सघन सहरीले बनाएको बाटोहरु बाहेक मलंगवामा अन्य देखिने विकास कतै नभएको स्थानियहरुको आरोप छ । मलंगवाको मुसैलीमा रहेको पोखरी सौन्दर्यीकरणको नाममा भएका कमसल कामहरु र सोलार बतिको दुर्दशाले समेत जनप्रतिनिधिको काम प्रष्ट पार्छ । वडा स्तरमा निर्माण भएका भित्री सडकहरु र साना नालाहरुको निर्माणको गुणस्तरले पनि जनप्रतिनिधिको पोल खोलेको छ। 

  महिला तथा बालबालिकाका नाममा खर्च भएका करोडौं रकमहरु लाभावीन्त समुहमा पुग्नुको सट्टा जनप्रतिनिधिका आसेपासेहरुले बाँडेको स्थानिय अजय रायको आरोप छ । मलंगवा नगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको सघन शहरी भवन निर्माण आयोजनाद्धारा टेण्डर गरी मलंगवाका विभिन्न सडकहरुको निर्माण भएको छ र सोही कामलाई आफुले गरेको भन्दै जनप्रतिनिधिले देखाउने गरेका छन । 

  मलंगवामा जनप्रतिनिधी आएपछि सर्लाहीको सदरमुकाम मलंगवाको अवस्था बिकासको हिसाबले झनै खराब भएको नागरिक समाजका अगुवाहरु बताउछन । 

 ५ वर्षमा मलंगवाको अवस्था कुनै प्रकारले नफेरिएको आम जनताले आरोप लगाउदै आएको छ ।

No comments:

Post a Comment