Wednesday, April 13, 2022

बसबरिया र धनकौल गाउँपालिकाको टाइफाइड रोग खोप अभियान बैशाख ४ गतेदेखि सुरु हुने

 

मनोज यादव---

सर्लाही ,चैत ३०  

    सर्लाहीको बसबरिया र धनकौल गाउँपालिकाले   टाइफाइड रोग विरुद्धको खोप अभियान बैशाख ४ गतेदेखि बैशाख ९ गतेसम्म संचालन गर्ने भएको छ।ती दुबै पालिका अन्तर्गतका स्वास्थ्य शाखाले आज(बिहिबार)सदरमुकाम मलंगवा स्थित रिपोर्टस क्लब नेपाल शाखा सर्लाहीको साक्षातकार  कक्षमा आयोजना गरेको टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुलाई सो कुराको जानकारी गराएका छन् ।

   सरकारले १५ महिना देखी १५ वर्ष  सम्मका  बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार बसबरिया गापामा रहेका १२ वटा खोप केन्द्र मार्फत ९ हजार ९१ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य संयोजक बिजय कुमार यादवले जानकारी गराएको छ।जसमध्ये विद्यालय नजाने २ हजार ४ सय ६६ र विद्यालय जाने ६ हजार ६ सय २५ जना बालबालिकाहरु रहेको यादवले जानकारी दिए।

   त्यसैगरी धनकौल गाउँपालिकाले पनि ८ हजार ५ सय ४ जना बालबालिकाहरुलाई १८ वटा खोप केन्द्र मार्फत खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखा संयोजक अरुण कुमार महतोले जानकारी दिएको छ।जसमध्ये ६ हजार ४० जना विद्यालय जाने र २ हजार ४ सय ६४ जना विद्या बाहिरका रहेका छन् ।

   विभिन्न संचार संस्थामा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको कार्यक्रमको अध्यक्षता रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका उपाध्यक्ष मनोज यादवले गरेका थिए।


No comments:

Post a Comment