Sunday, April 24, 2022

दुर्व्यसनी युवाका कारण मलंगवा बजार असुरक्षित,अवाञ्छित क्रियाकलाप तथा अपराधीक गतिविधिहरु बढ्यो

मनोज यादव---

 

मलंगवा ,बैशाख ११

     सर्लाहीको सदरमुकाम मलंगवामा कुलतमा फसेका युवाहरुका अवान्छित गतिविधिका कारण माहोल डरलाग्दो र खतरपुर्ण बन्दै गएको छ ।चोरीका घटनाहरुमा पनि वृद्धि भएको छ।

    मलंगवाका विभिन्न सार्वजनिक तथा व्यस्त स्थानमा लागूऔषध तथा मादक पदार्थ खाने केही युवाको गतिविधिले गर्दा नगरकै सुरक्षामा चुनौती देखिएको भन्दै स्थानीय बुद्धिजीवीहरुले दुखेसो पोखेका छन् । कुलतमा फसेका युवाहरुको गतिविधिका कारण राति मात्र नभइ दिउँसो समेत बजारमा हिँड्डुल गर्न नसकिने अवस्था आएको एक स्थानीय महिलाले गुनासो गरिन । मलंगवाको सबैभन्दा व्यस्त मानिने बालमन्दिर चौकमा,बसपार्क , नगरपालिका चौक,शिवसागर चौक,जिविस चौक,नाइट बस लाग्ने ओम पेट्रोल पम्प आसपास रिंगरोड  लगायतका ठाउँमा रहेका केही चिया पसल,होटल तथा पान पसलमा बिहान देखि साँझ अबेर सम्म दुर्व्यसनी युवाहरुको जमघट हुने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।ती युवाहरु त्यस्ता होटल तथा पसलमा बसेर विभिन्न किसिमका लागुऔषधको सेवन गरि अपराधिक गतिविधि सम्बन्धि योजनाहरु बनाउने,अवाञ्छित क्रियाकलापहरु गर्ने गरेको प्रत्यक्षदर्शीहरुले बताए ।त्यस्ता युवाहरुले गर्दा किशोरी र युवतीहरुलाई एक्लै मात्र नभइ समूहमा समेत हिँड्डुल गर्न समस्या हुने गरेको एकजना प्रत्यक्षदर्शीले नाम नखोल्ने सर्तमा बताए ।उनले भने ‘साँझ परेपछि जाँडरक्सी, गाँजा भाङ र लागुऔषध खाने समूह त्यही भेटिन्छन ।त्यस्ता युवाहरुनै चोरी,लुटपाटमा संलग्न हुने गरेकोे उनले बताए ।

   बढीजसो मावि तहमा अध्ययन गरिरहेका युवाहरु कुलतमा फसेको जानकारहरुले बताए। कतिपय अभिभावकलाई आफ्ना छोरा कुलतमा फसेको विषयमा थाहा नभएकाले सचेत गराउनैपर्ने अवस्था देखिएको उनीहरूले भने।

मलंगवाका सार्वजनिक तथा व्यस्त चौक र सडकमा प्रहरीको डिउटीको बावजुद पनि त्यस्ता दुर्व्यसनीहरु बजारका केही सार्वजनिक ठाउँलाई आफ्नो अड्डा बनाएका छन् ।त्यस्ता अड्डाहरुमा तत्कालै छापा मारेर उनिहरुलाई नियन्त्रणमा लिन सके माहोलमा केही सुधार आउने बुद्धिजीवीहरुले बताए ।

No comments:

Post a Comment