Tuesday, June 29, 2021

सदरमुकामकै एक स्वास्थ्य चौकीको अवस्था दयनीय,बिरामीको उपचार गर्ने थलो आफै बिरामी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १५

       सदरमुकाम मलंगवा नगरपालिका मातहतकै एक  स्वास्थ्य चौकीको अवस्था अहिले दयनीय भएको छ ।

स्थानीयबासीहरुको उपचारको  लागि भनी स्थापना भएको मलंगवा नगरपालिका वडा न-७ मुसैली स्थित वडा स्वास्थ्य चौकीको वर्तमान अवस्थालाइ देख्दा  आफै बिरामी परे जस्तो देखिएको स्थानीय युवा सुजित यादवले बताएको छ।

        मलंगवा बजारवाट मात्र करिब ३ किलोमिटरको दुरीमा रहेको उक्त  स्वाथ्य चौकी संरक्षणको अभावमा लथालिङ्ग परेको यादवले बताएको छ।स्वास्थ चौकीका इन्चार्ज शालिक मिकरानिको लापरबाहीले गर्दा उक्त स्वास्थ चौकी बेवारिसे भएको उनको आरोप छ ।जनप्रतिनिधिको बेवास्ताका कारण २/३ महिना यता देखी उक्त स्वास्थ चौकीको हालत नाजुक भएको स्थानीयबासीहरुको आरोप छ । स्थानीय सरकारको बेवास्ताका कारण उक्त स्वास्थ्य चाैकी अहिले डम्पिङ साइटजस्तो देखिन थालेको छ।

भवनको छत ठाउँठाउँमा भत्किएको छ।  पर्खालमा चिरा परेका छन्। न बस्न ठाउँ सफा र सुरक्षित छ त न औषधि राख्ने र्‍याक नै गतिलो छ। टुटफुट भइसकेका फर्निचरहरु  घरमा आगो बाल्न लगिसकेको छ ।

   स्वास्थ्य चाैकी भत्किएको र मर्मत गर्नुपर्ने भनी स्थानीयले बारम्बार यहाँका जनप्रतिनिधिलाई भन्दा पनि सुनुवाइ भएको छैन। यसबारेमा बारम्बार वडाध्यक्ष प्रमोद यादवलाई  जानकारी गराइए पनि उनले मेयरसंग भन्नु भन्दै पन्छिने गरेको  स्थानीय युवा सुजित यादवले गुनासो गरे।

स्वास्थ्य  चौकी व्यवस्थित नहुँदा र स्वास्थ्यकर्मी समेत नहुँदा स्थानीयहरुलाई निशुल्क पाइने  केही सामान्य रोगको औषधी लिन मलंगवा बजार जानुपरेको छ । मलंगवा नजाने स्थानीयहरुलाई गाउँकै  औषधी पसलबाट महँगो दाममा औषधी किनेर खानुपरेको यादवले भने ।

     स्वास्थ चौकी मर्मत तथा सुधार  गर्नका लागि वडा कार्यालय सँग  बजेट नभएको पनि होइन , वडा अध्यक्षले सडक निर्माण तथा स्तरोन्नतिको लागी छुट्याइएको बजेटबाट  कटौती गरि घरघरमा हैण्डपम्प बाँडेर  भोट बैंकको राजनीती गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन् । वडा अध्यक्षले आफ्नो मनोमानी गर्दै विभिन्न क्षेत्रमा छुट्याइएको बजेटको दुरुपयोग गरिरहेको सुजित यादवले बताए ।

     स्वास्थ्य चौकी जस्तो  सार्वजनिक ठाउँमा कार्यरत स्वास्थ्यकर्मी , कर्मचारी तथा सेवाग्राहीहरुको सुविधाको लागि एउटा कल समेत नरहेकोले त्यहाँ कार्यरत कर्मचारीले स्वास्थ्य चौकीमा पनि एउटा कल उपलब्ध गराइदिनको लागि  वडा अध्यक्षलाई आग्रह गर्दा  मेयरसँग गएर माग्न भनि फर्काएको उनीहरूले दुखेसो सुनाए ।

      मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकारवाला राख्ने स्वास्थ्य  चौकीको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेकोले सरोकारवाला तथा  सम्बन्धित निकाएले  त्यसतर्फ तुरुन्त ध्यान पुर्याउन स्थानीयबासीहरुले आग्रह गरेका छन् ।

No comments:

Post a Comment